१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
खेल

पोखराको खराब सुरुवात, १५ रन जोड्दा गुमायो ३ विकेट

<br>

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी १३औं खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सविरुद्ध निकै खराब सुरुवात गरेको छ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पोखराले ३.५ ओभरमै आफ्ना सुरुवाती ३ विकेट गुमाएको छ।

पोखराले ३.५ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा मात्र १५ रन बनाएको छ। लुम्बिनीका तीव्र गतिका विदेशी बलर रुबेन ट्रम्पलम्यानले घातक बलिङ गर्दै सुरुवातमै पोखराको शीर्ष क्रम ध्वस्त पारेका हुन्।

ट्रम्पलम्यानले इनिङ्सको पहिलो ओभरको दोस्रो बलमै ओपनर अर्जुन कुमाललाई शून्य रनमा बोल्ड आउट गरे।

त्यसपछि तेस्रो ओभरको पहिलो बलमा उनले अर्का विदेशी ब्याटर सदिरा समराविक्रमालाई ७ रनमा अभिषेक गौतमको हातबाट क्याच आउट गराएका छन्।

पोखराको संकट यतिमै रोकिएन। चौथो ओभरको पाँचौं बलमा स्पिनर शेर मल्लले विपिन आचार्यलाई व्यक्तिगत १ रनमै ‘कर्ट एन्ड बोल्ड’ गर्दै तेस्रो सफलता दिलाएका छन्।

हाल क्रिजमा कप्तान कुशल भुर्तेल ५ बलमा ५ रन बनाएर टिकिरहेका छन्। लुम्बिनीका लागि ट्रम्पलम्यानले २ ओभरमा ७ रन दिएर २ विकेट तथा शेर मल्लले १ विकेट लिएका छन्।

यसअघि लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएका थिए।

प्रकाशित: १७ कार्तिक २०८३ १७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App