२७ श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

पोग्बा मोनाकोबाट बाहिरिने तयारीमा

फ्रान्सका स्टार फुटबलर पाउल पोग्बा मोनाकोबाट बाहिरिने सम्भावना बढेको छ। मोनाको र पोग्बाबीच सम्झौता समयअगावै अन्त्य गर्ने विषयमा छलफल भइरहेको र यो प्रक्रिया चाँडै टुंगिने अपेक्षा गरिएको छ।

विश्वकप विजेता पोग्बा गत वर्षको गर्मीमा फ्रान्सेली क्लब मोनाकोमा आबद्ध भएका थिए। प्रतिबन्धित पदार्थ सेवनसम्बन्धी कारबाहीपछि व्यावसायिक फुटबलमा फर्किन अनुमति पाएलगत्तै उनले मोनाकोसँग दुई वर्षको सम्झौता गरेका थिए। उनको सम्झौता आगामी सिजनको अन्त्यसम्म कायम रहने थियो।

तर मोनाकोमा पोग्बाको पहिलो सिजन चोटका कारण प्रभावित भयो। यस सिजन भने उनी नियमित रूपमा मैदानमा फर्किने अपेक्षा गरिएको थियो। यद्यपि, प्रशिक्षक परिवर्तन भएपछि क्लबले मध्यपंक्तिमा नयाँ योजना बनाउने सम्भावना छ। फिलिप लुइसले सेबास्टियन पोक्नोलीको स्थान लिएपछि पोग्बाको भविष्य थप अनिश्चित बनेको हो।

पोग्बामाथि सन् २०२४ को फेब्रुअरीमा चार वर्षको फुटबल प्रतिबन्ध लगाइएको थियो। सन् २०२३ को अगस्टमा गरिएको परीक्षणमा प्रतिबन्धित पदार्थ डीएचईए भेटिएपछि उनी कारबाहीमा परेका थिए। पोग्बाले भने आफूले जानाजान प्रतिबन्धित पदार्थ सेवन नगरेको दाबी गरेका थिए। आफूलाई दिइएको पूरक पदार्थमा प्रतिबन्धित तत्व रहेकोबारे आफूलाई कुनै जानकारी नभएको उनको भनाइ थियो।

पछि खेलकुदसम्बन्धी मध्यस्थता अदालतले उनको प्रतिबन्ध चार वर्षबाट घटाएर १८ महिनामा झारेको थियो। त्यसपछि पोग्बालाई सन् २०२५ को मार्चदेखि पुनः व्यावसायिक फुटबलमा फर्किन अनुमति दिइएको थियो। सन् २०१८ को विश्वकप विजेता पोग्बाले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसबाट समेत उत्कृष्ट प्रदर्शन गरेका थिए। मोनाकोले पोग्बाको सम्भावित बहिर्गमनबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

प्रकाशित: २७ श्रावण २०८३ ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App