जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ५६ रनले पराजित भएको छ।
आईतबार जनकपुरको रामजानकी बहुउद्देशीय रगंशालमा सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य पुलिसले भेट्टाउन सकेन। पुलिस ३५.१ ओभरमा १३५ रन बनाउँदै अलआउट भयो। पुलिसका ओपनर कुशल भुर्तेल शून्य रनमै पेभिलियन फर्किए। अर्काओपनर दिनेश खरेल १० रनमै समेटिए।
पुलिसको लागि गुलशन झाले अर्धशतक पारी खेले। ५० रन बनाएका उनले ६४ बलको सामना गरेका थिए। सो क्रमा उनले ५ छक्का र १ चौका समेत प्रहार गरे। सुदूरपश्चिमको लागि हेमन्त धामी र शोर मल्लले समान ३-३ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरले ४०.४ ओभरमा १९१ रन बनाउँदै अलआउट भयो। सुदूरको लागि नारायण जोशीले ८२ रनको योगदान गरे। जोशीले ८० बलमा ७ चौका र ६ छक्का प्रहार गरे। सुदूरका कप्तान शेर मल्ल ३ रन बनाएर आउट भए। पुलिसको लागि दिनेश खरले ४ विकेट लिदाँ सागर ढकालले ३ विकेट लिए।
प्रकाशित: २९ चैत्र २०८२ १६:३८ आइतबार




