१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

पिएम कप क्रिकेटः आर्मी र पुलिस विजयी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन्।  

तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। गण्डकीले दिएको २१० रनको लक्ष्य त्रिभुवन आर्मीले ३४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।  

उसको जितमा त्रितराज दास, क्याप्टेन बिनोद भण्डारी र भीम सार्कीले अर्धशतक प्रहार गरे। सार्की ५४ रनमा नटआउट रहँदा भण्डारीले ५८ र दासले ५१ रन बनाए। कुशल मल्ला ४३ रनमा नटआउट रहे।  

यसअघि पहिला ब्याटिङ गरेको गण्डकी निर्धारित ओभर सकिन २ बल बाँकी हुँदा २०९ रनमा अलआउट भयो। अर्जुन कुमालले ६७ र दीपक डुम्रेले ५१ रन बनाएका थिए।  

बलिङमा आकाश चन्द र शहाब आलमले समान ३ तथा कुशल मल्लले २ विकेट लिए।  

अर्को खेलमा पुलिस क्बले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्यो। बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। उसको जितमा शंकर रानाले ११६ रनको पारी खेले। १२८ बलको सामना गरेका उनले १३ चौका र ४ छक्का प्रहार गरे। दिनेश खरेलले ७५ रन बनाउँदा क्याप्टेन आरिफ शेख ४३ रनमा नटआउट रहे।  

पहिला ब्याटिङ गरेको बागमती ४९.२ ओभरमा २६५ रनमा अलआउट भएको थियो। बागमतीका लागि पवन थापाले ७९ र इशान पाण्डेले ७० रन बनाएका थिए।  

बलिङतर्फ दिनेश खरेल र रसिद खानले समान ३ तथा करण केसीले २ विकेट लिए। ललित राजवंशीको नाममा एक विकेट रह्यो ।  

यो जितसँगै पुलिस र आर्मीको समान ४ अंक भएको छ। आर्मीको यो लगातार दोस्रो जित हो भने पुलिसले तीन खेलमा २ मा जित निकालेको छ। बागमतीको तीन खेलमा २ अंक छ । गण्डकीको लगातार दोस्रो हार हो। 

प्रकाशित: १२ चैत्र २०८२ १८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App