८ आश्विन २०८३ बिहीबार
image/svg+xml
खेल

कर्णाली याक्सको ‘हेडगेयर पार्टनर’ मा पल्मबर पाइप, तीन वर्षको सम्झौता

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजको उत्पादन पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ।

एनपिएलको तेस्रो संस्करणका लागि भएको सम्झौताअनुसार पल्मबर पाइप आगामी तीन वर्षसम्म टोलीको आधिकारिक ‘हेडगेयर पार्टनर’ रहनेछ।

राजधानीमा बिहीबार आयोजित कार्यक्रममा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक नितिन जलानले सम्झौतापत्रमा हस्ताक्षर गरे।

गत सिजन कर्णाली याक्सको मुख्य प्रायोजकका रूपमा रहेको पल्मबर पाइपले यसपटक साझेदारीको स्वरूप परिवर्तन गर्दै हेडगेयर पार्टनरका रूपमा सहकार्यलाई निरन्तरता दिएको हो।

कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले पल्मबर पाइपसँगको सहकार्यले टोलीलाई थप हौसला मिलेको बताए। ‘यो केवल प्रायोजन वा व्यावसायिक सम्झौता मात्र होइन, कर्णाली याक्सप्रतिको विश्वास र हाम्रो यात्रामा साथ दिने प्रतिबद्धताको निरन्तरता पनि हो,’ मल्लले भने, ‘एनपिएलको तेस्रो संस्करणमा पनि पल्मबरको साथले टोलीलाई थप ऊर्जा र उत्साह दिनेछ।’

जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक नितिन जलानले कर्णाली याक्ससँगको यात्रालाई निरन्तरता दिन पाउँदा उत्साहित भएको बताए। ‘हाम्रो यो साझेदारी ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित नभई समग्र नेपाली क्रिकेट र एनपिएलको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता हो,’ उनले भने, ‘आगामी दिनमा कर्णाली याक्ससँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजानेछौं।’

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि सुरु हुँदैछ।

प्रतियोगिताको तयारी तीव्र बनाएको कर्णाली याक्सले यसअघि नै दुई विदेशी खेलाडी मार्क वाट र अक्बर अलिलाई टोलीमा आबद्ध गरिसकेको छ।

प्रकाशित: ८ आश्विन २०८३ २२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App