१७ भाद्र २०८३ बुधबार
image/svg+xml
खेल

फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा

फिदिम स्पोर्टिङ क्लब पाँचथरले स्टार खेलाडीले भरिएको झापा–११ लाई स्तब्ध पार्दै चौथो ताप्लेजुङ गोल्डकपको फाइनलमा स्थान बनाएको छ।

बुधबार फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको मैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा फिदिमले झापा–११ माथि १–० को रोमाञ्चक जित निकाल्दै पहिलोपटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। फिदिमको जितमा सुसन जवेगुले निर्णायक गोल गरे।

आरोन थापा मगर, देवेन्द्र तामाङ र आयुष घलानजस्ता चर्चित खेलाडी सम्मिलित झापा–११ विरुद्ध फिदिमले सुरुदेखि नै सम्हालिएको र रणनीतिक खेल प्रदर्शन गरेको थियो। त्यसकै परिणामस्वरूप फिदिमले झापामाथि ऐतिहासिक जित निकाल्न सफल भयो।

फाइनलमा फिदिमले सिराहाको सलहेस युवा क्लबको सामना गर्नेछ। सलहेसले मंगलबार भएको पहिलो सेमिफाइनलमा प्रतियोगिताको एकमात्र अन्तर्राष्ट्रिय टोली भारतको कालिम्पोङस्थित जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

सलहेस ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करणको डिफेन्डिङ च्याम्पियन हो। दोस्रो संस्करणमा उपविजेता बनेको सलहेसले तेस्रो संस्करणमा उपाधि जितेको थियो।

बुधबार फिदिमको जितमा महत्वपूर्ण भूमिका खेलेका मिराक खजुम ‘म्यान अफ द म्याच’ घोषित भए। उनले पुरस्कारस्वरूप ७ हजार रुपैयाँ बराबरको अलैंची प्राप्त गरे।

ताप्लेजुङ देशभरमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाका रूपमा परिचित छ। अलैंचीको प्रवर्द्धन गर्ने उद्देश्यले मिक्वाखोला गाउँपालिका–४ का विजय साँवा लिम्बूले प्रतियोगिताका प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई ७ हजार रुपैयाँ बराबरको अलैंची पुरस्कार दिने गरी प्रायोजन गरेका हुन्।

साँवा संयोजक रहेको दोस्रो फङफङदेन झरना पर्यटन महोत्सवका अवसरमा आयोजित फुटबल प्रतियोगितामा पनि आयोजकले विजेता र उपविजेतादेखि सर्वोत्कृष्ट तथा उत्कृष्ट खेलाडीलाई नगदको सट्टा सोही मूल्य बराबरको अलैंची पुरस्कार प्रदान गरेका थिए।

लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार बिहीबार खेललाई विश्राम दिइनेछ भने भदौ १९ गते फाइनल खेल सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८३ रुपैयाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको एक थान मोटरसाइकल प्रदान गरिनेछ।

त्यस्तै, विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको अर्को आकर्षणका रूपमा फाइनल दिन भाग्यशाली दर्शकले टिभिएस कम्पनीको एक थान स्कुटरसमेत जित्न सक्नेछन्। त्यसका लागि खेल हेर्न टिकट काटेका दर्शकको टिकटको अर्धकट्टी संकलन गरी फाइनलका दिन गोलाप्रथाबाट एक भाग्यशाली दर्शक छनोट गरिनेछ।

प्रकाशित: १७ भाद्र २०८३ १८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App