१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

स्पोर्ट्स रिसर्च सेन्टरका प्राविधिकलाई पाण्डेको प्रशिक्षण

प्रोफेसर डा. सिद्धार्थविक्रम पाण्डेले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्पोटर्स साइन्स रिसर्च सेन्टरका प्राविधिकलाई आफ्नो अनभुव साट्दै प्रशिक्षण गराएका छन्।

स्पोटर्स इन्जिनियरिङ र बायोमेकानिक्समा विद्यावारिधिसमेत गरेका पाण्डे लामो समयदेखि खेलकुद विज्ञान र अनुसन्धानमा काम गर्दै आएका छन्। उनी दक्षिण कोरियाको सिओलस्थित हानयाङ विश्वविद्यालयमा स्पोटर्स इन्डस्ट्री एन्ड साइन्स डिभिजनका प्रोफेसर समेत हुन्। उनै पाण्डेले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको स्पोटर्स साइन्स एन्ड रिसर्च सेन्टरका प्राविधिकलाई प्रशिक्षण गराएका छन्। उनले रिसर्च सेन्टरमा रहेको अत्याधुनिक उपकरण कसरी धेरै उपयोगी बनाउन सकिन्छ, ती उपकरण राख्ने तरिका, खेलविशेष अनुसन्धान, रिसर्च सेन्टरका आफ्नै क्याटलग र क्यालेन्डर लगायत विषयमा प्रशिक्षित गराएका थिए।

प्रोफेसर पाण्डेले विश्व खेलकुदमा स्पोटर्स साइन्स र रिसर्च सेन्टरको प्रयोग पदकमुखी या चोटबाट बच्ने गरी दुईवटा उद्देश्यमा भइरहेको बताए। आफू विगत १८ वर्षमा हरेक वर्षको एकपटक नेपाल आउने गरेको स्मरण गर्दै यसपल्ट दसैंमा आउँदा नेपाली खेलकुदबाट दक्षिणा नै मिलेको अनुभव भएको उनको भनाइ छ।

प्रोफेसेर डा. पाण्डेले अहिले नेपाली खेलकुदमा स्पोटर्स साइन्स रिसर्च सेन्टर र हाई पर्फेमेन्स सेन्टरको स्थापना भएको देख्दा धेरै खुसी लागेको प्रतिक्रिया दिए। खेलाडीले कडा प्रशिक्षण गरेर मात्र पदक ल्याउन सहज नहुने उनको धारणा छ। खेलाडीको मिहिनेत ९९ प्रतिशत र खेलकुद विज्ञान तथा रिसर्चको एक प्रतिशतले मात्र ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउन सहज हुने उनको भनाइ छ।

प्रोफेसेर डा. पाण्डेले खेलकुदको अनुसन्धानमा लामो समयदेखि काम गरेको देशले नै ओलम्पिक तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाउने गरेको इतिहास रहेको बताए।

अहिले नेपालमा इङ्लिस प्रिमियर लिगमा नै प्रयोग हुने अत्याधुनिक उपकरणहरू आएको देख्दा आफू धेरै खुसी भएको उनले उल्लेख गरे तर  यसको सही तरिकाले प्रयोग हुँदा मात्र नेपाली खेलकुदले राम्रो फड्को मार्न सक्ने उनले बताए। हरेक  खेल र खेलाडी विशेषलाई फरक तरिकाले अनुसन्धान गर्न उनले रिसर्च सेन्टरका प्राविधिकलाई आग्रह गरेका छन्। सोही अवसरमा राखेपले प्रोफेसर डा. सिद्धार्थविक्रम पाण्डेलाई स्पोटर््स साइन्स रिसर्च सेन्टरको सल्लाहकारमा नियुक्त गरेको छ।

राखेप सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच प्रोफेसर पाण्डेलाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए। सो अवसरमा घिसिङले एउटा विश्व खेलकुदमा विशेष भूमिकाबाट काम गरेको देख्दा सम्पूर्ण नेपाली नै खुसी भएको र अब प्रो. पाण्डे जस्तो विशेषज्ञ नेपाली खेलकुदमा जोडिँदा खेलकुद विकासमा अर्को इँटा थपिने विश्वास व्यक्त गरे।

पाण्डेले पनि आफूले पाएको जिम्मेवारीअनुरूप नेपाली खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले रिसर्च सेन्टरका प्राविधिकलाई अनलाइन मार्फत सदैव ज्ञान प्रदान गर्न तयार हुने उल्लेख गर्दै अर्कोपल्ट नेपाल आउँदा रिसर्च सेन्टरका लागि समय दिने बताए।

विश्व खेलकुदमा दशकौंदेखि वैज्ञानिक तवरले प्रशिक्षण हुँदै आएको छ तर, नेपालमा भने गत असार अन्तिम सातामा मात्र स्पोटर््स साइन्स रिसर्च सेन्टरको स्थापना हुँदै प्रयोगमा पनि आउन थालेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङको कार्यकालमा सुरु भएको यो रिसर्च सेन्टरमा अझै पनि दक्ष प्राविधिक जनशक्तिको अभाव भइरहेको छ।

प्रकाशित: २२ आश्विन २०८२ १०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App