एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत समूह ‘बी’ को खेलमा नेपालले पाकिस्तान ‘ए’ लाई १६८ रनमै अलआउट गरेको छ। रसिद खानको घातक बलिङको मद्दतमा नेपालले जितका लागि १६९ रनको लक्ष्य पाएको हो।
कतारको दोहामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ‘ए’ ४२ ओभरमै सम्पूर्ण विकेट गुमाएर १६८ रनमा समेटियो। पाकिस्तान ‘ए’ को इनिङ्स ध्वस्त पार्ने क्रममा नेपालका रसिद खानले एक्लै ५ विकेट लिए।
उनले ८ ओभर बलिङ गर्दै ३९ रन खर्चिए। यस्तै, अभिषेस गौतमले ९ ओभरमा १ मेडनसहित २७ रन खर्चेर २ विकेट हात पारे भने सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १-१ विकेट लिए। लामिछानेले ७ ओभरमा मात्र २० रन दिए।
नेपाली बलरको कसिलो आक्रमणसामु दबाबमा परेको पाकिस्तान ‘ए’ ले ८८ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो। तर, विकेटकिपर रोहेल नजीरले एक छेउबाट उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याए।
नजीरले ८३ बलमा ४ चौका र ३ छक्कासहित अविजित ६४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले आठौं विकेटका लागि अहमद दानियलसँग ७० रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।
१५८ रनको स्कोरमा रसिद खानले दानियललाई पाण्डेको हातबाट क्याच आउट गराउँदै उक्त साझेदारी तोडे। लगत्तै सुफियान मुकिमलाई शून्यमै बोल्ड गर्दै खानले आफ्नो ५ विकेट पूरा गरे भने ४२औं ओभरको अन्तिम बलमा अभिषेस गौतमले मोहम्मद हसनैनलाई एलबीडब्लु आउट गर्दै पाकिस्तान ‘ए’ को इनिङ्स समाप्त पारे।
पाकिस्तान ‘ए’ का लागि हसन नवाजले २८, हैदर अलीले १५ तथा माज सदाकत र कप्तान अब्दुल समदले समान १३-१३ रन बनाए।
नेपालले अब १६९ रनको लक्ष्य पछ्याउँदै केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ।
प्रकाशित: ८ मंसिर २०८३ १८:४९ मंगलबार





