पदकको आशा बोकेर नेपाली टेनिसको टोली जापान आएको थिएन। एसियाली खेलकुदजस्तो महादेशकै ठूलो मञ्चमा विश्व वरीयताका खेलाडीहरूसँग कोर्टमा उत्रिन पाउनु नै नेपाली खेलाडीका लागि ठुलो अवसर थियो।
त्यसैले लक्ष्य स्पष्ट थियो अनुभव बटुल्ने, उच्चस्तरीय खेलाडीबाट सिक्ने र सकेसम्म केही खेल जित्ने। त्यही लक्ष्य लिँदै नेपाली टेनिस २०औं एसियाली खेलकुदमा जापानको नागोया सहर आएको हो। यो टोलीमा किशोर खेलाडीको बाहुल्य छ। शिभाली गुरुङ, स्वस्तिका विष्ट र निसान श्रेष्ठ किशोरावस्थामा छन्। अभिषेक बास्तोला र प्रदीप खड्का भने अनुभवी र सिनियर खेलाडी हुन्। शिभाली १५ वर्षकी छिन्। स्वस्तिका भने १६ वर्षकी मात्र भइन्। जुनियर अन्तर्राष्ट्रिय स्पर्धामा शिभालीले राम्रो सम्भावना देखाउँदै आएकी छन्। एसियाली खेलकुदमा त्यो प्रदर्शन आउन सकेन। तीन विधामा उनको प्रतिस्पर्धा पनि सकिसकेको छ। स्वस्तिकाको एउटा स्पर्धा बाँकी छ।
प्रदर्शनबाट सन्तुष्ट नभए पनि नतिजाबाट भने शिभाली सन्तुष्ट देखिन्छन्। विश्वको शीर्ष खेलाडीविरुद्ध अनुभव र सुखद प्रदर्शन गर्ने लक्ष्य लिएर आएको शिभालीले बताइन्। अहिलेसम्म पुरुष डबल्समा मात्र नेपालको नाममा एउटा जित छ। प्रदीप र अभिषेकले नेपाली टेनिसका लागि यो सफलता दिलाएका हुन्। यो जोडीले मंगोलियाका मंखबतार बादराख र उर्नुख जोलबादरको जोडीलाई हराएको थियो। नेपाली टेनिसले पहिलोपल्ट जितको स्वाद चाख्यो। यो जित पदक थिएन। तर यसको महत्त्व सामान्य जितभन्दा धेरै माथि छ। एसियाली खेलकुदमा नेपाली टेनिसको लामो यात्रामा यसअघि जितको खाता खुलेको थिएन। प्रदीप र अभिषेकले त्यो प्रतीक्षा अन्त्य गरे।
नेपाली टोलीका व्यवस्थापक नरेशबहादुर श्रेष्ठले केही युवा नेपाली खेलाडीमा सम्भावना भए पनि दीर्घकालीन योजनाअनुसार अगाडि बढ्न नसक्दा अन्तर्राष्ट्रिय मञ्चमा असफल भएको बताए। ‘हामीसँग धेरै राम्रा प्रतिभा छन्। उनीहरूलाई विश्वको शीर्ष स्तरमा पुर्याउने योजना भए पनि कार्यान्वयन गर्न सक्ने अवस्था छैन। सबभन्दा पहिला भौतिक पूर्वाधारले मार पार्छ। हाम्रो लगानी नै यो स्तरमा खेल्नका लागि पर्याप्त छैन,’ उनले भने ,‘लगानी र दीर्घकालीन योजनामा काम गरियो भने हाम्रा खेलाडी ग्रान्ड स्लाम पुग्न सक्छन्। अनि एसियाडजस्ता प्रतियोगितामा पदक जित्न सक्छन्।’
अमेरिकामा अभ्यास गरेका सिनियर खेलाडी अभिषेकले पर्याप्त पूर्वाधार र लगानीबिना यो स्तरमा पदक आशा गर्नुको अर्थ नरहेको धारणा राखे। ‘एउटा जित निकाल्न नै कठिन छ। किनकि यो खेल विश्वमै महँगो र ठूलो लगानीमा अगाडि बढ्दै छ। १० हजार घण्टा अन्तर्राष्ट्रिय प्रतिस्पर्धापछि मात्र खेलाडीले राम्रो गर्न सक्छन्,’ अभिषेकले भने, ‘अहिले डेभलपिङ खेल खेलेर नतिजा आउँदैन।’
नेपाल टेनिस संघका महासचिवसमेत रहेका निरेशले विश्व वरीयताका शीर्ष खेलाडीसँग प्रतिस्पर्धा गर्न पाउनु नै खेलाडीका लागि अवसर रहेको बताए। ‘हामी र विपक्षीको स्तरमा ठूलो फरक छ,’ श्रेष्ठ भन्छन्, ‘त्यसकारण यहाँ नजितेकोमा निराश हुनु पर्दैन। यहाँबाट अनुभव लिएर जाने हो। सिकेर जाने हो। त्यसमा सफल भएका छौं।’
२०औं एसियाली खेलकुदमा स्वर्णसहित कम्तीमा १० पदक जित्ने महत्वाकांक्षी लक्ष्य नेपालले लिएको थियो। त्यसका लागि टेनिससहित २१ खेलका खेलाडी जापान आएका छन्। पदक सम्भावना राखिएका खेलले पछिल्ला तीन वर्षयता मिसन २६ को नामबाट विशेष प्रशिक्षण पनि गरे। तीमध्ये कराते, कबड्डी, बक्सिङ, उसु र जुडोबाट नेपालले पदक आशा गरेको थियो। तथापि आयोजना सकिने संघारमा पुग्दा नेपाल दुई कांस्यमै सीमित छ। आशा गरिएका खेलबाट रजत र स्वर्ण आएन। त्यसमा टेनिस पदकको दौडमा थिएन। नेपाली टोली स्वयंलाई थाहा थियो। कोर्टमा विश्व वरीयताका खेलाडीसँग प्रतिस्पर्धा गर्नु नै उपलब्धि मानिएको थियो। यस्तोमा मंगोलियाविरुद्ध जितले नेपाली टेनिसलाई पदकभन्दा फरक उपलब्धि मानेको छ।
हिगासियामा पार्क टेनिस सेन्टरमा सोमबार महिला डबल्सको पहिलो चरणमा शिभाली र स्वस्तिकाको जोडीको प्रदर्शन सुखद रहेन। यो जोडी आयोजक जापानका मोमोको कोबोरी र अयानो सिमिजुसँग ६-० र ६-० ले सहजै पराजित भयो। स्कोरबोर्ड एकतर्फी थियो। त्यो खेल नेपाली किशोरीका लागि अनुभवको अर्को पाठ बन्यो। नेपाली टोलीका व्यवस्थापक श्रेष्ठ लगानी गरेको अवस्थामा नतिजा आएन भने प्रश्न गर्न मिल्ने बताउँछन्। किशोरावस्थामै यी खेलाडीले एसियाका उच्चस्तरीय खेलाडीविरुद्ध गरेको प्रदर्शनले सम्भावना देखाएको उनको विश्वास छ। शिभालीका लागि भने एसियाडको यात्रा निकै कठिन रह्यो। महिला एकल, मिक्स डबल्स र महिला डबल्समा उनको चुनौती सकिसकेको छ। तर कुनै पनि इभेन्टमा जित निकाल्न सकिनन्।
शिभाली प्रतियोगिताकै कम उमेरका खेलाडीमध्येकी एक हुन्। स्वस्तिका पनि किशोरावस्थामै छिन्। उनीहरूको उमेर र विपक्षीको अनुभवबिच ठुलो अन्तर थियो। त्यसैले नतिजाभन्दा पनि त्यहाँ उत्रिन पाउनु नै उनीहरूका लागि महत्त्वपूर्ण थियो। नेपाली टोलीकी प्रशिक्षक रेणुदेवी कोन्डा पनि युवा खेलाडीको प्रदर्शनलाई सकारात्मक रूपमा हेर्छिन्। ‘प्रदीप र अभिषेकसँगै निसान श्रेष्ठको प्रदर्शन आशालाग्दो थियो। महिलातर्फ भर्खर किशोरावस्थाको सुरुआतमा रहेका शिभाली र स्वस्तिकाको प्रदर्शन पनि गर्व गर्न लायक थियो,’ उनी भन्छिन्। नेपाली टोलीको एसियाड यात्रा अझै सकिएको छैन। मंगलबार टेनिस कोर्टमा नेपालले तीन फरक इभेन्टमा चुनौती प्रस्तुत गर्नेछ।
पुरुष एकलमा पनि नेपालले चुनौती प्रस्तुत गर्नेछ। पहिलो चरणमा बाई पाएका प्रदीपले दोस्रो चरणमा थाइल्यान्डका कासिदित सामरेजसँग खेल्नेछन्। सोमबारका तय खेल वर्षाका कारण हुन नसकेपछि मंगलबारलाई सारिएको छ। अभिषेकले पनि पहिलो चरणमा बाई पाएका थिए। उनले दोस्रो चरणमा काजकिस्तानका एलेक्जेन्डर सेभचेन्कोसँग प्रतिस्पर्धा गर्नेछन्। मिक्स डबल्समा निसान श्रेष्ठ र स्वस्तिका विष्टको जोडीले इन्डोनेसियाका रुङकाट क्रिस्टोफर र सुत्जियादी अल्दिलासँग खेल्नेछ। मौसमले साथ दिए यी तीनै खेल मंगलबार हुनेछन्। नेपाली टोलीका लागि यी खेल जित र हारभन्दा पनि अर्को परीक्षा हुन्। प्रदीपले भारत बलियो भए पनि जितका लागि सक्दो मिहिनेत गर्ने बताए।
साथै उनले पनि अहिलेको लगानीमा पदक या माथिल्ला स्तरको प्रदर्शन गर्न सम्भव नहुने स्पष्ट पारेका छन्। किनकि एसियाली खेलकुदको कोर्टमा हरेक खेलसँगै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरको अनुभव थपिरहेका छन्। अब नेपाली टोलीको नजरमा अब पुरुष डबल्सको यात्रालाई अझ अगाडि बढाउने सम्भावना पनि छ।
पुरुष डबल्सको दोस्रो चरणमा प्रदीप र अभिषेकको जोडीले भारतका अनिरुद्ध चन्द्रशेखर र नारायणस्वामी बालाजीको जोडीको सामना गर्नेछ। भारतको टेनिस स्तर नेपालभन्दा निकै माथि छ। त्यसैले यो खेल नेपाली जोडीका लागि ठुलो चुनौती हुनेछ। तर मंगोलियाविरुद्ध देखाएको परिपक्व प्रदर्शन दोहोर्याउन सके अप्रत्याशित नतिजाको सम्भावनालाई नेपाली टोलीले अस्वीकार गरेको छैन।
प्रकाशित: १३ आश्विन २०८३ ०६:५९ मंगलबार





