जर्मनीमा बसोबास गर्ने नेपालीहरूको बीचमा सबैभन्दा ठूलो वार्षिक खेलकुद पर्वका रूपमा चिनिने एनआरएनए कप २०२५ शनिबार जर्मनीको म्युनिखमा सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनी, एलसिसी बायर्न र एनएफटी म्युनिखको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ आइन्ट्राख्ट नेपाली रेडले उपाधि जित्यो भने महिलातर्फ एनएफसी ह्याम्बर्ग विजेता बन्न सफल रह्यो।
प्रतियोगिताको औपचारिक उद्घाटन जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतिले गरेका थिए । उनले खेलकुदलाई केवल प्रतिस्पर्धा नभई आपसी एकता, सहकार्य र मैत्री सम्बन्ध बलियो बनाउने माध्यमका रूपमा लिनुपर्नेमा जोड दिए । साथै यस्ता अवसरले विदेशमा हुर्किरहेका नेपाली नयाँ पुस्तामा मातृभूमिको पहिचान जोगाउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै यहाँ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई भविष्यमा नेपाली क्लबसँग प्रत्यक्ष खेलाउने पहलमा आफू प्रतिवद्ध रहने उल्लेख गरे ।
सन् २०१६ देखि निरन्तर हुँदै आएको यो प्रतियोगिता आठौं संस्करणमा प्रवेश गरेको हो। यसपटक पहिलोपटक म्युनिखमा आयोजना गरिएको एनआरएनए कपमा २० टोली (पुरुषतर्फ १५, महिलातर्फ ५) ले सहभागिता जनाएका थिए।
क्वार्टरफाइनल पार गरेर एनएफटी म्युनिख, एनएफसी स्टुटगार्ट, एनएफसी ह्यानोभर र आइन्ट्राख्ट नेपाली रेड अन्तिम चारमा पुगे।
सेमिफाइनलमा आइन्ट्राख्ट नेपाली रेडले एनएफटी म्युनिखलाई पेनाल्टीमा २–१ ले पराजित गर्यो। अर्को सेमिफाइनलमा एनएफसी ह्यानोभरले एनएफसी स्टुटगार्टलाई ४–२ ले हरायो । फाइनलमा दुवै टोलीबीच निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। त्यहाँ आइन्ट्राख्ट नेपाली रेडले एनएफसी ह्यानोभरलाई ३–१ ले हराउँदै उपाधि जित्यो।
फ्रयांकफर्टस्थित आइन्ट्राख्ट नेपाली रेडका गोलकिपर अमन तिवारी प्रतियोगिताको चर्चित अनुहार बने । उनले पेनाल्टीमा गरेको निर्णायक क्याचका कारण टोलीलाई उपाधि जिताउन मात्र होइन उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडी दुवै सम्मान प्राप्त गर्न सफल भए ।
महिलातर्फ पाँच टोलीबीचको राउन्ड–रोबिन चरणपछि एनएफसी ह्याम्बर्ग र एनएफसी स्टुटगार्ट उपाधिका लागि भिडे। फाइनलमा ह्याम्बर्गले स्टुटगार्टलाई १–० ले हराउँदै ट्रफी जित्यो।
पुरुषतर्फ विजेता आइन्ट्राख्ट नेपाली रेडले ५ हजार युरो र ट्रफी, उपविजेता एनएफसी ह्यानोभरले २ हजार युरो र ट्रफी प्राप्त गरे । यसैगरी महिला तर्फ विजेता एनएफसी ह्याम्बर्गले २ हजार युरो र ट्रफी साथै उपविजेता एनएफसी स्टुटगार्टले १ हजार युरो र ट्रफी पाएका छन् ।
महिलातर्फ उत्कृष्ट खेलाडिमा स्टुटगार्टकी स्वस्तिका रावत भइन भने उत्कृष्ट गोलकीपरको उपाधि ह्यामबर्गकी सिम्रन गुरुङले जितिन ।
खेलसँगै, खानपान र भेटघाटले म्युनिखको वातावरण उत्सवमय बनेको थियो। एनआरएनए जर्मनीका अध्यक्ष लोकमणि ढकालले समापन सत्रमा बोल्दै प्रतियोगिताले नेपाली समुदायलाई एउटै मञ्चमा ल्याउने कार्य गरेको भन्दै यसलाई खेलकुद मात्र नभई सांस्कृतिक उत्सवको रूपमा व्याख्या गरे । आगामी संस्करण स्टुटगार्टमा आयोजना गर्ने उनको भनाइ थियो ।
प्रकाशित: २२ भाद्र २०८२ १३:०५ आइतबार





