नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ।
सार्वजनिक तालिकाअनुसार अक्टोबर २६ हुने उद्घाटन खेलमै साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका सम्पूर्ण खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्। प्रतियोगिताको ग्राण्ड फिनाले आगामी नोभेम्बर २१ तारिखमा हुने तय भएको छ।
तालिकाअनुसार प्रतियोगितामा ‘सिंगल हेडर’ र ‘डबल हेडर’ गरी म्याचहरू सञ्चालन हुनेछन्। एउटा मात्र खेल हुने दिन दिउँसो ४:३० बजे खेल सुरु हुनेछ। त्यस्तै, दिनमा दुईवटा खेल हुने दिन पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल ४:३० बजेदेखि सुरु हुनेछन्।
लिग चरणमा सहभागी आठवटै फ्रेन्चाइज टोलीले एक-अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। लिग चरणका खेलहरू सकिएपछि अंक तालिकाको शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाउने छन्।
प्लेअफअन्तर्गत अंक तालिकाका शीर्ष दुई टोलीले नोभेम्बर १७ मा पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्।
त्यस्तै, तेस्रो र चौथो स्थानमा रहने टोलीबीच नोभेम्बर १८ मा ‘एलिमिनेटर’ खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरको विजेताबीच नोभेम्बर १९ मा दोस्रो क्वालिफायर खेल हुने क्यानले जनाएको छ।

प्रकाशित: ३ आश्विन २०८३ १८:४८ शनिबार





