३ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

बाढीपीडितको सहयोगार्थ ३ सय बढीको साइकल र्‍याली

संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितलाई सहयोगका लागि ललितपुरमा बृहत् साइकल र्‍याली आयोजना गरिएको छ।

औपचारिक कार्यक्रममा सीमित हुने प्रवृत्तिको सट्टा काठमाडौं शिक्षालय ललितपुरले सामाजिक उत्तरदायित्व बहन गर्दै बिहीबार ३०० भन्दा बढीको सहभागितामा उक्त र्‍याली सम्पन्न गरेको हो।

‘बाढीपीडितका लागि साइकाल र्‍याली, मानवताका लागि एकता’ भन्ने मूल नाराका साथ आयोजना गरिएको र्‍यालीको महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले शुभारम्भ गरे।

सो अवसरमा नगर प्रमुख श्रेष्ठले प्राकृतिक विपद्का बेला नागरिकस्तरबाट, त्यसमा पनि विद्यालय र विद्यार्थीहरूबाट देखाइएको यस्तो ऐक्यबद्धता अत्यन्तै प्रशंसनीय रहेको बताए।

र्‍यालीमा शिक्षालयका शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी, स्थानीय समुदाय र विभिन्न क्षेत्रका साइकलप्रेमीहरूको उत्साहजनक उपस्थिति थियो। कार्यक्रमलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी र नेपाल स्काउटले सहजीकरण गरेका थिए।

विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले साइक्लिङलाई केवल खेलकुद गतिविधिका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व र सहयोगको भावना विकास गर्ने माध्यमका रूपमा लिइएको बताए।

शिक्षालयले यसअघि नै भोटेकोशीका बाढी प्रभावितका लागि ललितपुर प्याब्सनमार्फत ५१ हजार आर्थिक सहयोगसमेत गरिसकेको उनले जानकारी दिए।

२० र २५ किलोमिटर दूरी गरी दुई विधामा सञ्चालन गरिएको र्‍यालीले महालक्ष्मी क्षेत्रका विभिन्न स्थानलाई समेटेको थियो। इमाडोलस्थित काठमाडौं शिक्षालयबाट सुरु भएको र्‍याली कृष्णमन्दिर, ग्वार्को, बालकुमारी, खरिबोट, टीकाथली, बालकोट, चाँगाथली, लुभु, लामाटार हुँदै शङ्ख देवी मन्दिर पुगेको थियो।

त्यहाँबाट विष्णुडोल, स्कुल चोक र महालक्ष्मी नगरपालिकाको कार्यालय हुँदै पुनः शिक्षालय परिसरमै पुगेर र्‍याली समापन गरिएको थियो।

प्रकाशित: ३ आश्विन २०८३ १८:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App