१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

एनपिएल : आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदै छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४ः०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्ने छन्।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलबाट एक खेल नै जितेको छ।

लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ। प्लेअफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई यो खेल जित्नुपर्ने अवस्था छ।

यस्तै अपराह्न हुने दोस्रो खेलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्ने छ। तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आजको जित निकाल्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ। अङ्क तालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते प्लेअफ दौडबाट बाहिरिने सम्भावना छ।

यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ। आजको खेल जितेर सुदूरपश्चिम प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ। यसका साथै गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदला समेत लिने दाउमा सुदूरपश्चिम रहनेछ।

यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

प्रकाशित: १३ मंसिर २०८२ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App