३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
खेल

डिआरएस लागू भएपछि एनपीएलको खेल समय परिवर्तन

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलको समय परिवर्तन गरिएको छ। डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधि लागू हुने भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि सार्वजनिक गरेको खेल तालिकामा समय हेरफेर गरेको हो।

क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार, दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ। त्यस्तै, दैनिक एउटा मात्र खेल हुने दिन पनि खेल साँझ ५ बजेबाट सुरु हुने गरी नयाँ समय निर्धारण गरिएको छ।

यसअघि दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल अपराह्न ४:३० बजे सुरु हुने तालिका थियो। त्यसैगरी, दैनिक एउटा मात्र खेल हुने दिन पनि खेल अपराह्न ४:३० बजे नै सुरु हुने व्यवस्था थियो। नयाँ तालिकाअनुसार दोस्रो खेल र एक खेल मात्र हुने दिनको खेल सुरु हुने समय आधा घण्टा पछि सारिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

डिआरएस प्रविधिको प्रयोगले खेलका क्रममा अम्पायरका निर्णय पुनरावलोकन गर्न सकिने भएकाले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: ३ कार्तिक २०८३ १६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App