१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

एनपिएल : एक शतक र १४ अर्धशतकको कीर्तिमान

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा हालसम्म १४ खेल समाप्त भएका छन्। चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ।

एनपिएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैनन्। जारी सिजनमा प्रहार भएका १४ अर्धशतकमध्ये पाँच अर्धशतक नेपाली खेलाडीको नाममा छन्। बाँकी सबै विदेशी खेलाडीका छन्।

सबैभन्दा बढी अर्धशतक हिर्काउने टोलीमा सुदूरपश्चिम रोयल्सका तीन, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सका दुई–दुई खेलाडी छन्। यस्तै, चितवन राइनोज र कर्णाली याक्सका एक–एक खेलाडी छन्। व्यक्तिगत रूपमा सबैभन्दा बढी चितवनका विदेशी खेलाडी रवी बोपराले तीन अर्धशतक पूरा गरेका छन्।

यस्तै, पोखराका कप्तान कुशल भुर्तेलले दुई अर्धशतक पूरा गरेका छन्। सुदूरपश्चिमका नेपाली खेलाडी विनोद भण्डारी, विदेशी खेलाडी हर्मित सिंह र जोश ब्राउन, जनकपुरका नेपाली खेलाडी आसिफ शेख, विदेशी खेलाडी वायन पार्नेल, विराटनगर किङ्सका नेपाली खेलाडी लोकेश बम, विदेशी खेलाडी मार्टिन गुप्टिल र कर्णालीका प्रियान्क पन्चालले एक–एक अर्धशतक प्रहार गरेका छन्।

कर्णालीका विदेशी खेलाडी मार्क वाट मात्र जारी प्रतियोगितामा शतक हिर्काउने एकमात्र खेलाडी हुन्। लुम्बिनीविरुद्ध ११४ रनको अविजित इनिङ खेलेका वाटले ४१ बलमै शतक पूरा गरे। उनी एनपिएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याटर बनेका छन्। वाट एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने ब्याटर पनि बने। यसअघि प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए। गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले १०४ रनको शतकीय इनिङ खेलेका थिए। यस क्रममा गौसले ५४ बलमा शतक बनाएका थिए।

हालसम्मको अंकतालिका हेर्दा सुदूरपश्चिम अपराजित टोलीका रूपमा शीर्ष स्थानमा छ। उसले लगातार चार खेल जितेर आठ अंक जोडेको छ। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ।

गत सिजनको विजेता जनकपुर हालसम्म अंकविहीन छ। अनिल शाहको कप्तानीमा रहेको जनकपुरले तीन वटै खेल हारेको छ। अंकविहीन जनकपुरको प्लेअफको बाटो साँघुरो बन्दै गएको छ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेर दोस्रो स्थानमा छ। कुशल मल्लको कप्तानीमा रहेको चितवनले तीन खेलबाट चार अंक जोडेर तेस्रो स्थानमा छ। काठमाडौंले चार खेलमा दुई खेल जितेर चौथो स्थानमा छ। समान तीन खेलबाट दुई अंक जोडेका कर्णाली र पोखरा क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन्। सातौँ स्थानमा रहेको लुम्बिनी लायन्सले चार खेलमा एक खेल जितेको छ।

जारी प्रतियोगितामा सबैभन्दा बढी रन हिर्काउनेमा चितवनका विदेशी खेलाडी रवी बोपरा छन्। उनले १८३ रन बनाएका छन्। बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने नौ विकेट लिएर पहिलो स्थानमा छन्।

जारी प्रतियोगितामा उच्च स्कोर बनाउने टोलीमा विराटनगर छ। उसले पोखराविरुद्ध २२० रन बनाएको थियो, जुन एनपिएल इतिहासकै उच्च स्कोर हो। दोस्रो उच्च स्कोर सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाएर जोडेको थियो। जारी सिजनमा सबैभन्दा कम स्कोर कर्णालीले सुदूरपश्चिमविरुद्ध ९४ रन बनाएर बनाएको थियो।

नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा जारी प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आठ टोली सहभागी छन्। विनोदसिंह विष्ट/रासस

प्रकाशित: १२ मंसिर २०८२ १२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App