२१ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

विश्वप्रकाशको दाबी : विशेषदेखि १५औँ महाधिवेशनसम्म सबै प्रक्रिया विधिसम्मत

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया विधि, विधान, पद्धति र संविधानअनुसार इमानदारीपूर्वक सम्पन्न भएको दाबी गरेका छन्।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले महाधिवेशन प्रतिनिधिहरूको सहभागिता र योगदानबाट पार्टीको महाधिवेशन प्रक्रिया सम्पन्न भएको उल्लेख गरे।

पार्टीको आधिकारिकतासम्बन्धी विवादलाई जोडेर विभिन्न आरोप लगाइए पनि प्रमाणबिना कुनै व्यक्तिको भनाइ वा सामाजिक सञ्जालमा फैलिएको हल्लाकै आधारमा निष्कर्षमा पुग्न नहुने उनको भनाइ थियो।

पार्टी सभापति गगन थापामाथि कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा बिचौलियासँग १८ करोड रुपैयाँको चलखेल गरेको आरोप लागेको विषयप्रति संकेत गर्दै शर्माले कानुनी प्रमाणबिना आरोपलाई सत्य मान्न नहुने बताए।

‘एउटा बिचौलियाले कहीँ भन्यो अरे भन्दैमा त्यसलाई अदालतले मान्छ कि मान्दैन? कानुनले मान्छ कि मान्दैन? सामाजिक सञ्जालका मान्छे त्यसैको होहल्लामा कुद्नुहुन्छ कि हुँदैन?’ उनले प्रश्न गरे।

शर्माले पार्टीभित्र विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै काम विधि र विधानअनुसार सम्पन्न भएको दाबी गर्दै भ्रम र हल्लाका आधारमा पार्टीको प्रक्रियामाथि प्रश्न नउठाउन आग्रह गरे।

उनले अब कांग्रेस सभापति गगन थापाको नेतृत्वमा योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताए। देशका लागि नयाँ सपना र परिवर्तनको हुटहुटी बोकेको नेतृत्वमार्फत पार्टीलाई नयाँ दिशामा अघि बढाउनुपर्ने उनको धारणा थियो।

केन्द्रीय समितिमा रहेका नेताहरू पार्टीको सङ्गठन, गतिविधि र आगामी योजनालाई व्यवस्थित रूपमा अघि बढाउन प्रतिबद्ध रहेको उनले बताए। हतारमा निर्णय गर्नुभन्दा अध्ययन, मेहनत र आपसी संवादलाई प्राथमिकता दिएर पार्टीलाई सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो।

‘विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्म पुग्दा पार्टीको विधि, विधान र प्रक्रियाअनुसार इमानदारीपूर्वक सबै काम भएको छ,’ शर्माको दाबी छ।

प्रकाशित: २१ कार्तिक २०८३ २१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App