दुई डेब्युटेन्टसहित एसियाबाट कुल ९ वटा राष्ट्रले उत्तरी अमेरिकामा सुरु विश्वकप २०२६ मा खेलिरहेका छन्। त्यसमध्ये एसियाको सबैभन्दा सफल राष्ट्र दक्षिण कोरियाले सानदार सुरुआत पनि गरिसकेको छ।
समूह ‘ए’ को कोरियाले शुक्रबार बिहान चेकियामाथि २–१ को जितसँगै विश्वकप २०६ को यात्रा सुरु ग¥यो। एसियाबाट विश्वकपमा सबैभन्दा माथिल्लो सफलतामा पुग्ने टोली हो दक्षिण कोरिया। घरेलु भूमिमा सन् २००२ को विश्वकपमा कोरिया सेमिफाइनलसम्म पुगेको थियो। तर, सेमिफाइनलमा जर्मनीसँग पराजित भएपछि दक्षिण कोरिया विश्वकप फाइनल खेल्ने पहिलो एसियाली राष्ट्र बन्न चुक्यो। गत कतार विश्वकप (सन् २०२२) मा अन्तिम १६ सम्म पुगेको दक्षिण कोरियाले यसपल्ट पनि समूहचरणको खेलमा राम्रो सुरुआत गरेको छ। यस समूहमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका छन्। यी दुई बीचको खेलमा आयोजकले पनि जित निकालिसकेको छ।
दोस्रो खेलमा दक्षिण कोरियाले बलियो घरेलु टोलीविरुद्ध जित निकाल्न सकेमा समूहचरण पार गर्नेछ। तब मात्र बलियो एसियाली राष्ट्रको रूपमा आफूलाई प्रमाणित गर्न सक्छ। एसियाकै अर्को राष्ट्र कतारले पनि शनिबार राति १२ः४५ बजे बलियो स्विट्जरल्यान्डको सामना गर्नेछ। जहाँ एसियाली समर्थक कतारको जित आशामा हुनेछन्। यस समूहमा ‘बी’ मा अर्को सहआयोजक क्यानडा र बोस्निया एन्ड हर्जगोभिना जस्ता बलिया राष्ट्र छन्। यस समूहमा कतारलाई कमजोर टोलीको रूपमा हेरिएको छ। जसको विश्वकप अनुभव दोस्रोपल्ट मात्र हो। यसअघि पहिलो विश्वकप पनि कतारले सन् २०२२ मा आयोजक रूपमा खेलेको थियो।
घरेलु भूमिमा पनि भएको डेब्यु विश्वकपमा पनि मध्यपूर्वी राष्ट्रले राम्रो नतिजा ल्याउन सकेको थिएन। फिफाले विश्वकपमा ३२ राष्ट्रबाट बढाएर यसपल्टदेखि ४८ राष्ट्रलाई विश्वकप खेलाउने निर्णय ग¥यो। जुन निर्णयपछि एसियाले ९ वटा कोटा पायो र कतार छनोट पनि भयो। पछिल्ला दुई दशक फुटबलमा राम्रो लगानी गरेको कतारले उत्तरी अमेरिकामा जारी विश्वकपमा राम्रो नतिजा ल्याउने आशा गरिएको छ। फिफा वरीयतामा आफूभन्दा १८औं स्थान माथिको स्विट्रल्यान्डलाई हराएर कतारले सुखद संकेत दिन सक्नुपर्नेछ। अमेरिकाको क्यालिफोर्नियास्थित सान्टा क्लाराको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा हुने खेलले दुवै टोलीको विश्वकप यात्रा सुरु गर्नेछ।
चार वर्षअघि घरेलु मैदानमा आयोजित विश्वकपमा निराशाजनक प्रदर्शन गरेको कतार यसपटक फरक छाप छोड्ने लक्ष्यमा छ। आयोजक राष्ट्रको हैसियतमा पहिलोपटक विश्वकप खेलेको कतारले २०२२ मा आफ्ना तीनवटै खेल गुमाएको थियो। त्यस क्रममा सात गोल बेहोरेको कतारले एक गोल मात्र गर्न सक्यो। तर स्पेनिस प्रशिक्षक जुलियन लोप्टेगुईको नेतृत्वमा कतारले २०२६ विश्वकप छनोटमा प्रभावशाली प्रदर्शन गरेको छ। जुन प्रदर्शनको अपेक्षा विश्वकपमा पनि हुने आशा छ। अन्तिम छनोट चरणमा संयुक्त अरब इमिरेट्सलाई पछि पार्दै समूहविजेता बनेको कतारले विश्वकपमा स्थान सुरक्षित गरेको थियो।
अल दुहाइलका फरवार्ड अल्मोइज अली कतारका मुख्य हतियार हुन्। १६ खेलमा १२ गोल गर्दै उनी छनोट चरणका सर्वाधिक गोलकर्ता थिए। कतारी आक्रमणको अर्को भरपर्दो नाम हो अक्रम अफिफ। अल–सादका प्लेमेकर अफिफले छनोटमा ११ असिस्ट दिए भने चार गोल पनि गरे। यद्यपि विश्वकपको पूर्वसन्ध्यामा कतारको लय भने कमजोर देखिएको छ। टोलीले सबै प्रतियोगितामा पछिल्ला ३७३ मिनेटदेखि गोल गर्न सकेको छैन। विश्वकप अघिका मैत्रीपूर्ण खेलमा आयरल्यान्डसँग १–० ले पराजित भएको कतारले एल साल्भाडोरसँग गोलरहित बराबरी खेलेको थियो। स्विट्जरल्यान्ड भने उच्च आत्मविश्वासका साथ मैदान उत्रँदै छ।
मुराट याकिनको स्विस टोलीले युरोपेली छनोटको समूह ‘बी’ मा शीर्ष स्थान हासिल गर्दै विश्वकपमा स्थान बनाएको हो। छनोटका ६ खेलमध्ये चारमा जित हात पारेको स्विट्जरल्यान्ड अपराजित रह्यो। इङ्ल्यान्डसँगै छनोटभर कुनै पनि खेलमा पछि नपरेको टोलीको सूचीमा स्विट्जरल्यान्ड पनि थियो। स्विस टोलीका प्रमुख खेलाडी ब्रेल एम्बोलो हुन्। फ्रान्सेली क्लब रेन्नेसका फरवार्ड एम्बोलोले टोलीलाई निर्णायक गोल गरे। उनी २०२२ विश्वकप र युरो २०२४ मा एकभन्दा बढी गोल गर्ने खेलाडीमध्ये पर्दछन्। स्विट्जरल्यान्ड र कतारबिच हालसम्म एकपटक मात्र भेट भएको छ।
सन् २०१८ मा स्विट्जरल्यान्डको लुजानोमा भएको मैत्रीपूर्ण खेलमा कतार १–० ले विजयी बनेको तथ्यांक छ। त्यस खेलमा अक्रम अफिफले अन्तिम समयमा गरेको गोल नै निर्णायक बनेको थियो। यद्यपि विश्वकपमा स्विट्जरल्यान्ड बलियो टोली साबित हुनेछ। फिफा वरीयतामा स्विट्जरल्यान्ड १९औं स्थान र कतार ५६औं स्थानका टोली हुन्। त्यसैले युरोपेली टोली एसियाली टोलीविरुद्ध स्पष्ट दाबेदार हो। लगातार छैटौं विश्वकप खेलिरहेको स्विट्जरल्यान्ड विजयी सुरुआतको लक्ष्यमा हुनेछ। कतार भने घरेलु विश्वकपको तीतो सम्झना बिर्साउँदै पहिलो अंकको खोजीमा छ।
प्रकाशित: ३० जेष्ठ २०८३ ०६:५४ शनिबार





