२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलोपटक क्वाटरफाइनलमा

एर्लिङ हालान्डले दुई गोल गरेसँगै नर्वे पाँचपटकको विश्वकप विजेता ब्राजिललाई २-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा सोमबार बिहान भएको खेलमा नर्वेले ऐतिहासिक जित निकालेको हो। खेलको ७९औँ मिनेटमा एन्ड्रियास स्जेल्डरपको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए। त्यसपछि ९०औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। खेलको अतिरिक्त समयको दशौँ मिनेटमा ब्राजिलका नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन्। यस हारसँगै ब्राजिल सन् १९९० पछि पहिलोपटक विश्वकपको नकआउट चरणबाट बाहिरिएको छ।

नर्वेलाई ऐतिहासिक जित दिलाएपछि हालान्डले भने, ‘सायद यसले नर्वेमा इतिहास लेख्नेछ। सबैले क्षणको आनन्द लिनुपर्छ। यो नर्वेजियन इतिहासको सबैभन्दा पागल दिनहरूमध्ये एक हो।’

खेलमा नर्वेली गोलकिपर ओर्जान नाइल्याण्डको प्रदर्शन पनि उत्कृष्ट रह्यो। उनले १४औँ मिनेटमा ब्रुनो गुइमारेसको पेनाल्टी प्रहार जोगाएका थिए। नर्वेका प्रशिक्षक स्टाल सोल्बाकेनले भने, ‘मलाई लाग्छ कि सबै नर्वेली नागरिकले जीवनको सबैभन्दा अनौठो रातको अनुभव गरिरहेका छन्।’

हारपछि ब्राजिलका कप्तान मार्क्विन्होसले भने, ‘हामीले सिर्जना गरेका अवसरहरूमा चुक्यौँ। हामीसँग पेनाल्टी किक थियो, तर विश्वकपमा साना गल्तीहरूले ठूलो असर गर्छ।’

अब नर्वेले ११ जुलाईमा मियामीमा हुने क्वाटरफाइनलमा इंगल्याण्ड वा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। हालान्डले यो प्रतियोगितामा सात गोल गरिसकेका छन्। उनी गोल्डेन बुटको दौडमा सामेल भएका छन्।

प्रकाशित: २२ असार २०८३ ०५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App