३० भाद्र २०८३ मंगलबार
image/svg+xml
खेल

एसियाली खेलकुदमा उत्तर कोरियाको शानदार सुरुआत, बंगलादेशमाथि १०-० को जित

जापानमा जारी एसियाली खेलकुदको महिला फुटबलमा उत्तर कोरियाले शानदार सुरुआत गरेको छ। ओसाकास्थित यानमार स्टेडियम नागाईमा सोमबार भएको समूह चरणको खेलमा उत्तर कोरियाले बंगलादेशलाई १०-० ले पराजित गरेको हो।

उत्तर कोरियाले खेलको पहिलो हाफमै सात गोल गर्दै जित लगभग सुनिश्चित गरेको थियो। दोस्रो हाफमा थप तीन गोल गरेपछि टोलीले १०-० को फराकिलो जित निकाल्यो।

उत्तर कोरियाली टोलीलाई खेलभर सयौँ समर्थकले रातो पोसाक लगाएर गीत तथा नारासहित समर्थन गरेका थिए। जापानमै जन्मिएर हुर्किएकी उत्तर कोरियाली स्ट्राइकर रि सङ-आ पनि सुरुआती टोलीमा थिइन् र उनले दोस्रो हाफमा गोल गरिन्।

युवा तहमा अन्तर्राष्ट्रिय फुटबलमा प्रभावशाली प्रदर्शन गर्दै आएको उत्तर कोरिया यसपटक महिला फुटबलको स्वर्ण पदकको दाबेदारमध्ये एक मानिएको छ।

एसियाली खेलकुदको औपचारिक उद्घाटन सेप्टेम्बर १९ मा हुनेछ। उत्तर कोरियाबाट १४ खेलमा १०० भन्दा बढी खेलाडी सहभागी हुँदैछन्। महिला फुटबलमा उत्तर कोरियाले सेप्टेम्बर २१ मा दक्षिण कोरियासँग समूह चरणको महत्वपूर्ण खेल खेल्नेछ।

उत्तर कोरियाको पुरुष टोलीले भने बुधबार आयोजक जापानको प्रतियोगितामा चीनविरुद्ध आफ्नो अभियान सुरु गर्नेछ।

प्रकाशित: ३० भाद्र २०८३ ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App