कप्तान सोनी पाख्रिनको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको समूह ‘डी’ अन्तर्गतको अन्तिम खेलमा हङकङलाई १ सय ८१ रनले पराजित गर्दै नेपाल लगातार तेस्रो जितसहित समूह विजेताका रूपमा अन्तिम आठमा पुगेको हो।
२ सय १२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको हङकङ नेपाली बलिङसामु टिक्न सकेन। निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ३९ रनमै सीमित भएपछि नेपालले प्रतियोगिताको अहिलेसम्मकै एकपक्षीय जित दर्ता गर्यो। हङकङका लागि वोङ विङले सर्वाधिक १३ रन बनाइन् भने अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
बलिङतर्फ कप्तान सोनी नै नेपालको मुख्य हतियार बनिन्। उनले ४ ओभरमा मात्र ४ रन खर्चेर ४ विकेट लिँदै विपक्षीको इनिङ्स धराशायी पारिन्। मनिषा उपाध्यायले २ विकेट हात पार्दा कृष्मा गुरुङ र स्नेहा महराले समान १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर २ सय ११ रनको विशाल योगफल तयार पारेको थियो। सुरुआतमै साना प्रवीण ४ रनमा आउट हुँदा नेपाल दबाबमा देखिए पनि त्यसपछि सावित्री धामी र कप्तान सोनीले दोस्रो विकेटका लागि १ सय ३६ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए।
सावित्रीले ३६ बलमा ६ चौकासहित ५२ रनको इनिङ्स खेलिन्। प्रतियोगितामा उनको यो लगातार तेस्रो अर्धशतक हो। यसअघि कतार र सिंगापुरविरुद्ध पनि उनले अर्धशतकीय प्रदर्शन गरेकी थिइन्।
अर्कोतर्फ, कप्तान सोनी शतकबाट केवल १० रनले पछि परिन्। उनले ६० बलमा १३ चौका र १ छक्काको मद्दतमा ९० रन बनाइन्। आक्रामक ब्याटिङका क्रममा उनले चौका–छक्काबाट मात्रै ५८ रन जोडेकी थिइन्। अन्त्यतिर अलिसा कुमारी यादवले १२ बलमा अविजित २३ रन बनाएर नेपालको स्कोर २ सय नाघ्न महत्वपूर्ण योगदान दिइन्।
हङकङका लागि निम्ब्रा अरबले २ विकेट लिँदा आर्जु फतिमा र वोङ विङले समान १–१ विकेट हात पारे।
यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारलाई १ सय ५ रन र दोस्रो खेलमा सिंगापुरलाई १ सय ५१ रनले पराजित गरेको थियो। लगातार तीन जितसँगै उच्च मनोबलमा रहेको नेपाली टोली अब उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यसहित क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: ३० असार २०८३ १२:४० मंगलबार

