वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-२० क्रिकेटमा नेपालले १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । शारजहामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि आसिफ शेख र सन्दीप जोराले उल्लेख्य पारी खेले । जोरा ६३ रनमा आउट भए । आसिफ ६८ रनमा नटआउट रहे ।
४३ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै दुवैले चौथो विकेटका लागि सतकीय साझेदारी गरे । टी-२० मा चौथो विकेटका लागि नेपाली खेलाडीले बनाएको यो सर्वाधिक साझेदारी हो । यसअघि रोहित पौडेल र आसिफ शेखले चौथो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए ।
४७ बलको सामना गरेका आसिफले २ छक्का र ८ चौका प्रहार गरे । सन्दीपले ३९ बलको सामना गर्दै ५ छक्का र ३ चौका हिर्काए । गुल्शल झा ६ रनमा आउट भए । लामो समयको प्रतिबन्धपछि टोलीमा फर्किएका आदिल आलमले ५ बलमा ११ रन बनाए ।
ओपनर कुशल भुर्तेल २, क्याप्टेन रोहित पौडेल ३ र कुशल मल्ल ७ रन बनाए ।
अकिल हुसेन र कायल मेयर्सले समान २ विकेट लिए । एक विकेट जेडिह ब्लाडिजको नाममा रह्यो । कुशल मल्ल रन आउट भए ।
तीन खेलको शृंखलामा नेपाल १-० ले अघि छ ।
प्रकाशित: १३ आश्विन २०८२ २१:५१ सोमबार





