लिगमा बेहोरेको हारको बदला लिँदै कर्णाली शिवराज जारी नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनको फाइनलमा पुगेको छ।
फाइनलका लागि शुक्रबार भएको प्लेअफ खेलमा कर्णाली शिवराजले काठमाडौं रेड्समाथि ३–१ को सेटमा जित निकाल्दै उपाधि भिडन्त तय गरेको हो। कर्णाली शिवराजले शनिबार पहिलो सिजनको उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्नेछ। अन्नपूर्ण स्पाइकर भने लिगको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा पुगेको हो।
कर्णाली र काठमाडौं लिगको दोस्रो र तेस्रो स्थानमा रहँदै प्लेअफ खेलेका हुन्। जहाँ कर्णालीले डिफेन्स र अट्याकमा उत्कृष्ट प्रदर्शन गर्दै बाजी मार्यो। साथै कर्णाली शिवराजले काठमाडौंसँग लिग चरणमा बेहोरेको हारको बदला पनि लियो। लिगमा भने काठमाडौं रेड्सले कर्णालीलाई ३–१ को सेटमा हराएको थियो।
यही हारपछि कर्णालीको अपराजित यात्रा रोकिएको थियो। तर, फाइनलका लागि भएको प्लेअफ खेलमा भने कर्णालीले बदला लियो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा कर्णालीले काठमाडौंमाथि २५–२१, २०–२५, २५–२३ र २५–२२ को सेटमा जित निकाल्यो।
कर्णालीका खेलाडी अलिरेजा अबालुच म्यान अफ दी म्याच भए। उनले आफू स्वर्ण पदकका लागि नै यहाँ आएको बताए। पहिलो सेट जित्दै कर्णालीले उच्च आत्मबल बटुल्यो तर दोस्रो सेटमार्फत काठमाडौंले पुनरागमनको प्रयास गर्यो। यो सेटमा काठमाडौं रेड्सले सुरुदेखि अग्रता लिँदै दबाब बनायो। कर्णालीको खराब डिफेन्स रहँदा काठमाडौं १४–८ को अग्रतामा अघि बढ्यो। यसपछि दबाबमा परेको कर्णाली दोस्रो सेटमा समालिन सकेन।
कर्णालीका अलिरेजा अबालुचले खेल धेरै कठिन भए पनि घरेलु खेलाडी र सबैले मिहिनेत गर्दा जित सम्भव भएको बताए। ‘खेल कठिन थियो। हिजो मात्र खेलेका थियौं। तर, घरेलु खेलाडीले धेरै राम्रो खेले। हामीले ब्लक र डिफेन्समा पनि राम्रो गर्यौं,’ उनले भने,‘फाइनलमा पनि जित्ने लक्ष्यसहित आउनेछौं।’
यससँगै काठमाडौंले २२–१६ को फराकिलो अग्रता लिँदै सहज रूपमा सेट आफ्नो बनाउने संकेत गर्यो। कर्णालीका प्रशिक्षक चन्द्र कुँवरले लिफ्टर स्मिटेक इमिलिनलाई विश्राम दिँदै घरेलु खेलाडी प्रयोग गरे।
उक्त निर्णयले काठमाडौंलाई दबाबमा राख्यो। यस क्रममा ६ अंकले पछि रहेको कर्णालीले लगातार चार अंक जोड्यो। यससँग यो सेटमा काठमाडौंको अग्रता २३–२० ले घट्यो तर काठमाडौंले लगातार दुई अंक जोड्दै दोस्रो सेट आफ्नो बनायो। यसपछि सेटमा १–१ को बराबरी भयो। यद्यपि, काठमाडौं रेड्सले यो बराबरीको अवस्थामा सदुपयोग गर्न सकेन।
केडिया ग्रुपद्वारा आयोजित एनभिएलको पहिलो सिजनमा कुल ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। लिगको विजेताले २० लाख प्राप्त गर्नेछ। उपविजेता टोलीका लागि भने पुरस्कार घोषणा भएको छैन।
नेपाली भलिबलमा यो सर्वाधिक नगद पुरस्कार हो। पहिलो संस्करणको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ तय गरिएको छ। कुल ३२ लाख रुपैयाँ राशिबाट पुरस्कार पाउने आयोजकले जनाएको छ। लिगमा खप्तड फाल्कन्स, मधेस वारियर्स र सगरमाथा स्म्यासर्स गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए।
प्रकाशित: २७ भाद्र २०८३ ०७:०४ शनिबार





