१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

सेमिफाइनलमा नेपालको भेट मलेसियासँग

नेपालले २०औं एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा घरेलु टोली मलेसियासँग खेल्ने भएको छ।

मलेसियाको बायोमास ओभलमा बिहीबार भएको समूह ‘बी’ को अन्तिम तथा तेस्रो खेलमा नेपालले इन्डोनेसियामाथि चार विकेटको संघर्षपूर्ण जित निकाल्यो। यससँगै नेपाल समूहमा दुई खेल नै जित्दै समूह विजेता बन्यो। मंगलबारदेखि सुरु भएको छनोटमा कुल ६ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्।

छनोटमा शीर्ष तीन राष्ट्रले जापानमा आगामी सेप्टेम्बरमा आयोजना हुने २०औं एसियन गेम्समा स्थान बनाउनेछन्। अब सेमिफाइनलमा नेपालले घरेलु टोलीलाई हराउन सके एसियन गेम्समा छनोट हुनेछ। समूह ‘बी’ को विजेता नेपालले समूह ‘ए’ को उपविजेता मलेसियासँग फाइनल प्रवेशका लागि शनिबार खेल्नेछ।

सोही दिन हुने पहिलो सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता चीनले समूह ‘ए’ को विजेता थाइल्यान्डको सामना गर्नेछ। पहिलो खेलमा चीनलाई पराजित गरेको नेपालले बिहीबार सम्पन्न खेलमा इन्डोनेसियामाथि जित हात पार्दै समूहविजेता भएको हो। इन्डोनेसियाले ११४ रनको सामान्य लक्ष्य दिएको थियो तर नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालको जितमा कप्तान इन्दु बर्माले ४३ बलमा ४२ रन बनाइन्। उनको इनिङमा पाँच चौका थियो। सोनी पाख्रिन २९, कविता कुँवर १४ रनमा आउट हुँदा सीता रानामगर १३ रनमा अविजित रहिन्।

इन्डोनेसियाका लागि मेड पुत्री र कडिक अरिएनीले समान २ तथा लक्ष्मीपरामिथा र अयु नयोमनले समान १ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल तयार गरेको थियो। इन्डोनेसियाकी कप्तान नन्दा साकारिनीले ६२ बलमा ३ चौकाको सहयोगमा अविजित रहँदै ५६ रनको अर्धशतकीय इनिङ्स खेलिन्। नेपालको बलिङमा मनीषा उपाध्यायले दुई तथा रिया शर्माले १ विकेट आफ्नो नाममा गरे।

प्रकाशित: १५ जेष्ठ २०८३ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App