ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर-६ को आफ्नो पहिलो र महत्त्वपूर्ण खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितका लागि १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
अल अमेरात क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ओपनर आसिफ शेखको सानदार अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनायो।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात दिलाएका थिए। दुवैले पहिलो विकेटका लागि ७.५ ओभरमा ५६ रनको साझेदारी गरे।
आक्रामक देखिएका कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित २८ रन बनाएर हर्षित कौशिकको बलमा एलबीडब्लु आउट भए।
त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेलले आसिफसँग मिलेर दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे।
रोहित १९ बलमा १ चौकासहित २० रन बनाएर आउट भए। एकातर्फबाट इनिङ्स सम्हालिरहेका आसिफ शेखले ४५ बलमा आफ्नो अर्धशतक पूरा गरे।
तर, अर्धशतक बनाएको लगत्तै उनी ४७ बलमा ४ चौका र १ छक्कासहित ५१ रन बनाएर ध्रुव पराशरको बलमा बोल्ड भए।
आसिफ आउट भएसँगै नेपालको मध्यक्रम धर्मरायो। कुशल मल्ल ११ बलमा १० रन र दीपेन्द्रसिंह ऐरी २ बलमा १ रन बनाएर चाँडै पेभेलियन फर्किए।
अन्तिम ओभरमा ब्याटिङ गर्न आएका गुल्सन झाले विस्फोटक ब्याटिङ गर्दै नेपालको स्कोरलाई सम्मानजनक अवस्थामा पुऱ्याए।
उनले मात्र ५ बलमा १ छक्का र २ चौकासहित १४ रन जोडे। अन्त्यमा सन्दीप जोरा ४ रन र सोमपाल कामी ६ रनमा अविजित रहे।
युएईका लागि बलरहरूले अनुशासित प्रदर्शन गरे। उसका लागि जुनैद सिद्दिकी, मोहम्मद रोहिद, जाहिद अली, हैदर अली, हर्षित कौशिक र ध्रुव पराशरले समान एक-एक विकेट लिए।
उत्कृष्ट सुरुवात गरेको नेपाललाई मध्यक्रममा रोक्दै युएईका बलरहरूले ठूलो स्कोर बनाउनबाट रोकेका थिए।
विश्वकप छनोटको यात्रामा अघि बढ्नका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ। अब १४१ रनको लक्ष्य रक्षा गर्ने जिम्मा नेपाली बलरहरूको काँधमा आएको छ।
प्रकाशित: २६ आश्विन २०८२ १७:५६ आइतबार





