२४ वैशाख २०८३ बिहीबार
image/svg+xml
खेल

युएईमाथि नेपालकाे फराकिलाे जित

ओपनर कुशल भुर्तेलको अर्धशतकीय योगदानमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँगको दोस्रो टी ट्वान्टी खेलमा जित निकाल्दै शृंखलामा बराबरी गरेको छ।

कीर्तिपुरमा मंगलबार भएको खेलमा बलिङ र ब्याटिङ दुवैमा साथ पाएपछि नेपालले पाहुना टोली युएईमाथि आठ विकेटको जित निकाल्दै शृंखला बराबरी गरेको हो। पहिलो खेलमा नेपालले सोमबार युएईसँग ६ विकेटले पराजित भएको थियो। दुई खेलको शृंखलामा बुधबार जितसँगै नेपालले १–१ को बराबरी गरेको हो।

नेपालको जितमा लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेटसँगै किफायती बलिङ र ओपनर कुशलले अर्धशतकीय इनिङ खेले। त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा युएईले एक सय २९ रनको सामान्य लक्ष्य दियो तर ओपनर कुशल चम्किएपछि नेपालले १५.५ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो।

ओपनर कुशल ८४ रनमा र कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहे। कुशलले ५७ बलमा १२ चौका र दुई छक्का प्रहार गरे। १७ बल खेलेका दीपेन्द्रको इनिङमा तीन चौका रह्यो। तेस्रो विकेटका लागि कुशल भुर्तेल र कप्तान दीपेन्द्रसिंहबीच ५८ रनको अविजित साझेदारी भयो। पहिलो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लबिच ६७ रनको साझेदारी भयो र नेपालले राम्रो सुरुआत पायो। मल्ल १७ बलमा १९ रन बनाएर आउट भए। मुहम्मद अर्फानले मल्ललाई बाउन्ड्री लाइनमा कप्तान मुहम्मद वासिमद्वारा क्याच गराउँदै साझेदारी तोडे। त्यसपछि युवा ब्याटर सन्तोष यादव १ रनमै पभेलियन फर्किए।

डेब्यु खेलमा सजक नहुँदा उनी विकेटकिपर अदिव उस्मानीद्वारा स्टम्पिङ भए। यससँगै ८.३ ओभरमा नेपाल ७१/२ को अवस्थामा पुग्यो। युएईको बलिङमा निलन्स केसवानी र अर्पmानले समान एक विकेट लिए। तीव्र गतिका बलर अजय कुमारले चार ओभरमा एक मेडन राख्दै १६ रन मात्र दिए पनि विकेट लिन सकेनन्। टस हारेर पहिले ब्याटिङ गरेको युएईले पूरै ओभरमा आठ विकेटको क्षतिमा १२८ रनको मध्यम योगफल बनायो। अक्षदीप नाथको नटआउट ५३ रनको अर्धशतकीय इनिङमा युएईले मध्यम योगफल बनाएको हो। ७.५ ओभरमा युएई ४८/६ को नाजुक अवस्थामा थियो तर अक्षदीप र मुहम्मद अर्फानले सातौं विकेटका लागि ६४ रनको साझेदारी गरे।

यो इनिङसँगै युएई सम्मानजनक योगफलतर्फ अग्रसर भयो। १९औं ओभरमा लेग स्पिनर सन्दीप लामिछानेले अर्फानलाई ३२ रनमा कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच गराउँदै साझेदारी तोडे। मध्य क्रमका ब्याटर अक्षदीप ४१ बलमा अर्धशतक बनाए। ४२ बल खेलेका उनको इनिङमा तीन चौका र चार छक्का रह्यो। अर्फानले ३६ बलमा दुई चौका र एक छक्का प्रहार गरे। इनिङको पहिलो बलमै विकेट पतनपछि युएईको सुरुआत राम्रो हुन सकेन। मध्य गतिका बलर हेमन्त धामीले युएईका कप्तान मुहम्मद वासिमलाई शून्यमा एलबिडब्लु सिकार गर्दै नेपाललाई राम्रो सुरुआत दिलाए। एक छेउबाट ओपनर अदिब उस्मानीले इनिङ समाले  तर अर्को छेउबाट लगातार विकेट पतनपछि युएई दबाबमा पर्‍यो।

अलिसान सराफु र हरप्रीत सिंह १ रनमा आउट भए। मध्य गतिका बलर नन्दन यादवले अलिसानलाई विकेटकिपर लोकश बमबाट क्याच गराए। हरप्रीत भने हेमन्तको बलमा एलबिडब्लु सिकार भए। २.२ ओभरमा युएई २०÷३ को नाजुक अवस्थामा पुग्यो। छिटै तीन विकेट गुमे पनि युएईले पावर प्लेमा ४७ रन जोड्यो। ६.३ ओभरमा सन्दीपले ओपनर उस्मानीलाई ३० रनमा एलबिडब्लु सिकार बनाए। यो विकेटसँगै युएई फेरि दबाबमा पर्‍यो। जहाँ सन्दीपले मेडन पनि राखे। उस्मानीले २२ बलमा समान दुई चौका र छक्का प्रहार गरे । आठौं ओभरमा युएईले दुई विकेट गुमायो। स्पिनर साहब आलमले तेस्रो बलमा सोहेब खानलाई शून्यमा आउट गरे। पाँचौं बलमा निलन्स केसवानी शून्यमै रनआउट भए।

यससँगै ७.५ ओभरमा ४८/६ को नाजुक अवस्थामा पुग्यो तर यसपछि सातौं विकेटका लागि अक्षदीप र अर्फानले राम्रो साझेदारी गरे। अन्तिम पाँच ओभरमा पनि नेपाली बलरले समालिएर बलिङ गरे। १९औं ओभरमा लेग स्पिनर सन्दीपले दुई विकेट लिँदै युएईको आक्रामक रन बटुल्ने योजना पूरा हुन दिएनन्। पहिलो बलमा अर्फान र दोस्रो बलमा खुजैमा तनवीरलाई शून्यमा पभेलियन फर्काउँदै सन्दीप ह्याट्रिकनजिक पुगे। तर, तेस्रो बलमा सन्दीपले विकेट लिन सकेनन् । डेथ ओभरमा युएईले १५ रन जोड्दै सम्मानजनक योगफल बनायो। नेपालको बलिङमा सन्दीपले चार ओभरमा तीन विकेट लिए।

यस क्रममा उनले एक मेडन राख्दै ६ रन मात्र दिएर किफायती बलिङ गरे। हेमन्तले पनि चार ओभरमा दुई विकेट लिँदै २० रन मात्र दिए। नन्दन र साहबको नाममा समान एक विकेट रह्यो तर दुवै महँगा साबित भए। अब नेपालले अब अप्रिल २५ तारिखदेखि आइसिसी लिग–२ को यात्रा सुरु गर्नेछ। यस त्रिकोणात्मक शृंखलामा नेपालसँगै ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन्।  

प्रकाशित: ९ वैशाख २०८३ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App