६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

विश्वकपमा नेपालको तेस्रो जित

आइसिसी टी ट्वान्टी विश्वकप

दीपेन्द्रसिंह ऐरीको लगातार दोस्रो अर्धशतक प्रेरणामा नेपालले भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकपमा पहिलो र समग्रमा तेस्रो जित निकालेको छ।

मुम्बईमा भएको समूह ‘सी’ को आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले मंगलबार स्कटल्यान्डमाथि सात विकेटले जित निकाल्दै दसौं संस्करणको विश्वकपमा यात्रा टुङ्ग्याएको हो। यससँगै नेपालले १२ वर्षपछि विश्वकपमा जित रच्यो। नेपालको यो सफलतामा दीपेन्द्रसिंहले उत्कृष्ट ब्याटिङ र सोमपाल कामीले उत्कृष्ट बलिङ गरे। कुल तीन विश्वकप सहभागितामा नेपालको यो तेस्रो जित हो। सन् २०१४ को डेब्यु विश्वकपमार्पmत नेपालले डेब्यु गरेको हो। जहाँ सोमपाल पनि टोलीका महत्वपूर्ण सदस्य थिए। उनले तीन विश्वकप पनि खेले। पहिलो संस्करणमा नेपालले अफगानिस्तान र हङकङलाई हराएको थियो। त्यसपछि लगातार सात खेलमा नेपाली टोली जितविहीन रह्यो।

१० वर्षपछि नेपालले (सन् २०२४) विश्वकपमा पुनरागमन गर्‍यो। तर, त्यसमा नेपाली टोलीले चारमध्ये तीन खेलमा हार बेहोर्‍यो। एक खेलमा नतिजा भने वर्षाले प्रभावित हुन पुग्यो। नेपाल जितविहीन भएर घर फर्किन बाध्य भएको थियो। लगातार दोस्रोपल्ट विश्वकप खेलेको नेपाल अन्तत: विश्वकपमा जित रचेको छ। जितपछि नेपालका कप्तान रोहित पौडेलले यस विश्वकपमा राम्रो सुरुआत गरे पनि आशाअनुरूप नतिजा नआएको बताए। ‘यस विश्वकपमा धेरै अपेक्षा लिएर आएका थियौं। पहिलो खेलमा राम्रै खेल्यौं। तर, त्यसपछि इटाली र इङ्ल्यान्डसँग राम्रो भएन। सुपर आठमा पुग्न सकेनौं,’ कप्तान रोहितले भने, ‘स्कटल्यान्डसँग जितबाट फर्कन चाहन्थ्यौं। यसमा सफल हुँदा खुसी छौं। दीपेन्द्रसिंह ऐरी र सोमपालले राम्रो खेल्नुभयो र लामो समयपछि जित सम्भव भयो। आगामी विश्वकपमा राम्रो गर्नेछौं।’

विश्वकपको कुल ११ खेलमा नेपालले तीन जित निकाल्दा सात हार र एक नतिजाविहीन बनेको छ। वानखेडे स्टेडियममा स्कटल्यान्डले एक सय ७१ रनको लक्ष्य दिएको थियो। तर, नेपालले १९.२ ओभरमा मात्र तीन विकेटको क्षतिमा भेट्टायो। दीपेन्द्रले ५० रनमा अविजित रहँदै जित दिलाए। उनले लगातार दोस्रो अर्धशतक प्रहार गरे। विश्वकपमा नेपाली खेलाडीको कुल तीन अर्धशतक छ। सन् २०१४ मा सुवास खकुरेलले अर्धशतक बनाएका थिए। त्यसपछि वेस्ट इन्डिजविरुद्ध दीपेन्द्रले नै अर्धशतक बनाए। स्कटल्यान्डविरुद्ध पनि उनले अर्धशतक प्रहार गरे। उनी विश्वकपमा दुई अर्धशतक बनाउने खेलाडी भए। उनले चौथो विकेटका लागि गुलसन झासँग ७३ रनको साझेदारी गरे। गुलसन २४ रनमा अविजित रहे।
दीपेन्द्रले २३ बलमा चार चौका र तीन छक्का प्रहार गरे। १७ बल खेलेका गुलसनको इनिङमा एक चौका र दुई छक्का रह्यो। 

ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले राम्रो ब्याटिङ गर्दै नेपाललाई सुखद सुरुआत दिलाएका थिए। यी दुईबीच पहिलो विकेटका लागि ७४ रनको साझेदारी बन्यो। १०औं ओभरमा कुशल ४३ रन र १२औं ओभरमा आसिफ ३३ रनमा आउट भए। दुवैलाई स्पिनर माइकल लिस्कले आउट गरेका हुन्। लिस्कले १४औं ओभरमा कप्तान रोहित पौडेललाई १६ रनमा पभेलियन फर्काएका थिए। त्यसपछि अन्य स्कटिस बलरले विकेट लिन सकेनन्। १३.५ ओभरमा नेपालले तीन विकेटको क्षतिमा सय रनको आँकडा भेट्टायो। पावरप्लेमा भने नेपालले बिनाविकेट ५६ रन जोडेको थियो।

कुशलले ३५ बलमा एक चौका र चार छक्का हिर्काए। आसिफले २७ बलमा दुई चौका प्रहार गरे। तेस्रो विकेटपछि नेपालमाथि दबाब बढेको थियो। तर, दीपेन्द्रले लिस्कको १६औं ओभरमा दुई छक्का र एक चौका प्रहार गर्दै खेल तानेका थिए। यो ओभरमा नेपालले २० रन जोड्यो। नेपाललाई जितका लागि २४ बलमा ३९ रन आवश्यक पर्‍यो। नेपालले अन्तिम पाँच ओभरमा ५९ रन जोड्दा दीपेन्द्रको आक्रामक ब्याटिङ रह्यो। स्कटल्यान्डको बलिङमा लिस्कले चार ओभरमा तीन विकेट लिँदा ३० रन खर्चिए।  टस जितेर पहिले बलिङ गर्ने नेपालको निर्णय सही साबित भएन। सुरुदेखि आक्रामक ब्याटिङ गर्दै स्कटिस टोलीले नेपाली बलरमाथि दबाब बनायो। पूरै ओभर खेल्दै स्कटल्यान्डले सात विकेटको क्षतिमा एक सय ७१ रनको योगफल बनायो।

ओपनर माइकल जोन्सले ४५ बलमा ७१ रन जोड्दै अर्धशतकीय योगदान दिए। अर्का ओपनर जर्ज मुन्सीले २७ रन जोडे। यी दुईले आक्रामक ब्याटिङ गर्दै राम्रो सुरुआत दिलाए। मुन्सी र जोन्सबीच ८० रनको साझेदारी बन्यो। स्कटल्यान्डले पावरप्लेमा ५२ रन जोडेको थियो। दुवै नेपाली बलरमाथि आक्रामक ब्याटिङ गरेका थिए। कप्तान रोहितले ९.६ ओभरमा जर्जलाई सन्दीप जोराबाट क्याच गराउँदै साझेदारी तोडे। तर, स्कटल्यान्डको आक्रामक ब्याटिङ रोकिएन। सन्दीप जोराले १३.१ ओभरमा ब्रेन्डन म्याकमुलनको क्याच छाडे। यति बेला ब्रेन्डन १५ रनमा थिए। १५.१ ओभरमा स्कटल्यान्ड १३२/१ को अवस्थामा थियो। यसै ओभरमा सोमपाल कामी बलिङ गर्न आए। यसै ओभरमा सोमपालले दुई विकेट लिएपछि स्कटिस टोलीको तीव्र रन गतिमा अंकुश लाग्यो। उनले दोस्रो बलमा जोन्सलाई बोल्ड गर्दै महत्वपूर्ण विकेट दिलाए। चौथो बलमै सोमपालले म्याकमुलनलाई २५ रनमा कट एन्ड बोल्ड गरे।

त्यसअघि जोन्स र म्याकमुलनबीच दोस्रो विकेटका लागि ५२ रनको साझेदारी बन्यो। जोन्सको इनिङमा आठ चौका र तीन छक्का प्रहार गरे। ब्रेन्डनले १९ बलमा समान एक चौका र छक्का हिर्काए। ३० रनमा जोड्दा ६ विकेट गुमाउँदा स्कटिस टोली दुई सय रनको योगफलबाट चुक्यो। मध्य क्रमका ब्याटर सस्तैमा आउट भए। कप्तान रिची बेरिङ्टन १० रनमा पभेलियन फर्किए। टोम ब्रुस ५, म्याथ्यु क्रस र माइकल लिस्क समान ४ आउट भए। अन्तिम पाँच ओभरमा सोमपालसँगै नेपाली बलरले उत्कृष्ट बलिङ गर्दै ३६ रन मात्र दिए। 

नेपालको बलिङमा सोमपालले चार ओभरमा तीन विकेट लिँदै २५ रन दिए। नन्दन यादवले दुई तथा रोहित र कुशल भुर्तेलले समान एक विकेट लिए। सोमपालको उत्कृष्ट बलिङमा नेपालले दबाब बनाएको हो। उनले तीन विकेट लिए। उनले विश्वकपमा १०औं विकेट पनि पूरा गरे। उनले पहिलो विश्वकपमा चार र दोस्रो तीन विकेट लिएका थिए। यसपल्ट उनले दुई खेलबाट तीन विकेट लिए। सोमपालले अबको विश्वकप यात्राबारे अहिले केही भन्न नसक्ने प्रतिक्रिया दिएका थिए। त्यसैले उनका लागि यो अन्तिम विश्वकप पनि बन्न सक्नेछ।    

प्रकाशित: ६ फाल्गुन २०८२ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App