२३ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

कभा च्याम्पिनयसिपमा नेपालको खराब प्रदर्शन, अबको लक्ष्य एसियन गेम्समा छनोट

महत्वपूर्ण तीन क्षेत्र डिफेन्स, स्पाइक र ब्लकमा बिर्सनलायक प्रदर्शनसँगै नेपाल जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुग्न असफल भएको छ ।

त्रिपुरेश्वरमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा निरिहपूर्ण प्रदर्शन गरेको नेपाल इरानसँग ३–० को सोझो सेटमा निरिहपूर्ण नतिजा सुम्पिन बाध्य भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपाली टोलीले नतिजा मात्र सुम्पिएन । कभर्डहलमा भरिभराउ दर्शकको साथ पाए पनि नेपाली टोलीले आत्मबल नै गुमाएर प्रदर्शन गर्‍यो ।

डिफेन्स, स्पाइक, ब्लक र सर्भिस कुनै पनि पक्षमा नेपाली खेलाडीको प्रदर्शन राम्रो रहेन । तीनै सेटमा इरानी टोली पूर्ण हाबी भएर खेल्यो । साथै उनीहरूको जोसिलो प्रदर्शनले भरिभराउ दर्शकको आवाज पनि सून्य बनाइदियो । हारपछि नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले एसियाकै शीर्ष ६ टोलीभित्र पर्ने राम्रो प्रतिद्वन्द्वी इरानविरुद्ध आफ्नो खेलाडीले बलियो मनोविज्ञानका साथ खेल्न नसकेको बताएका छन् ।

‘इरान एसियाकै उत्कृष्ट टोली हो । तर, हामीले आशा गरेका खेलाडीले खेल्ने सकेनन् । खेलाडीको मनोविज्ञान पनि कमजोर भयो । यो खराब नतिजामा हार्छौं भन्ने लागेको थिएन,’प्रशिक्षक भट्टले भने, ‘उनीहरूलाई हामीले धेरै फ्रि बल दियौं । पावर सर्भिस र बलियो ब्लक गर्ने हाम्रो रणनीति सफल भएन । टिक्निकल रूपमा नै हाम्रो टोलीमा समस्या भयो ।’ उनले हारबाट सिकेर भारतसँगको आगामी खेल (तेस्रो स्थानका लागि) मा राम्रो गर्ने विश्वास व्यक्त गरे । भारतलाई हराउँदै एसियन गेम्सका लागि पनि छनोट हुने उनको लक्ष्य छ । अधिकांश नयाँ खेलाडी रहेकाले यो प्रदर्शनबाट सकारात्मक लिने उनले उल्लेख गरे । भारतलाई जित्न सके पनि ठूलो उपलब्धि हुने प्रशिक्षक भट्टको विश्वास छ ।

पहिलो सेटमा नेपालले चुनौती दिने प्रयास गर्‍यो । तर, यो सेट पनि २५–२० ले सहजै इरानको पक्षमा रह्यो । दोस्रो सेटमा भने नेपाली टोलीले सुधारिएको प्रदर्शन गर्ने आशा थियो । यो सेटको सुरुआतमा नेपालले ७–७ को अवस्थामा चुनौती दियो । तर, इरानी खेलाडी मीना सुनार र उषा भण्डारीको लगातार स्पाइक ब्लक गरिदिएपछि नेपाली टोलीको आत्मबल थप कमजोर रह्यो । यसपछि नेपालका स्पाइकर पूर्ण असफल देखिए । अन्तत् यो सेट इरानले २५–१५ ले आफ्नो बनाउँदै सहजै जित निकाल्ने संकेत ग¥यो । तेस्रो सेटमा सुरुदेखि नै लगातार पाहुना टोलीले अंक बटुल्यो । यससँगै नेपालले दोहोरो अंकमा पार गर्दैनन् की भन्ने संकेत देखिएको थियो ।

यद्यपि, इरानी खेलाडीले केही गल्ती गर्दा नेपालले दोहोरो अंक कटायो । तेस्रो सेट भने इरानले २५–१० ले एकपक्षीय रूपमा आफ्नो बनायो । यो सेटमा इरानी खेलाडीले उत्कृष्ट डिफेन्स, स्पाइक र ब्लक प्रस्तुत गरे । यससँगै इरानले उपाधिका लागि कजाखस्तानसँग भेट गर्नेछ । कजाखकिस्तानले पनि बिहीबार नै भारतलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो । यसअघि समूहचरणको खेलमा नै इरानले कजाखस्तानलाई सोझो सेटमा हराउँदै समूह विजेता बनेको थियो । सेमिफाइनलमा पराजित नेपाल र भारत बीच तेस्रो स्थानका लागि शुक्रबार नै प्रतिस्पर्धा हुनेछ ।

समूहमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गरेका थियो । पहिलो सेमिफाइनलमा काजकिस्तानले भारतलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । दुई वर्षअघि च्याम्पियन भारतले पहिलो सेटमा टक्कर दियो । तर कजाखकिस्तानले उत्कृष्ट प्रदर्शन ग¥यो । पछिल्लो दुई सेटमा भारतीय खेलाडी निरिह बन्न बाध्य भए । कजाखस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ को सोझो सेटमा हरायो । यस च्याम्पियनसिपमा कुल आठ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित: १४ जेष्ठ २०८३ २०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App