नेपाली किशोर टोलीको दोस्रोपल्ट साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा पुग्ने लक्ष्य असफल भएको छ।
श्रीलंकामा जारी च्याम्पियनसिपको बिहीबार सम्पन्न सेमिफाइनलमा भारतसँग ३–० ले स्तब्ध भएसँगै नेपाली टोलीको फाइनल पुग्ने लक्ष्य असफल भएको हो।
भारतको जितमा गुनलेइबा वाङ्खेयराक्पाम, अजलान शाह र डाइमण्ड सिंहले एक गोल गरे। कोलम्बो रेसकोर्स स्पोट्रर्स कम्प्लेक्समा डिफेन्डिङ च्याम्पियन भारतले नेपाली टोलीमाथि लगातार दबाब बनाएको थियो। तर, पहिलो हाफमा गोल हुन सकेन।
दोस्रो हाफमा नेपाल समालिन सकेन र तीन गोल बेहोर्यो। पहिलो गोलपछि नेपाली किशोर टोली पनि आक्रामक बन्यो। यद्यपि, गोल निकाल्न सकेन र भारतलाई नतिजा सुम्पिन पुग्यो। अब भारतले फाइनलमा शनिबार बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
बिहीबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले पाकिस्तानमाथि २–० को जित निकाल्दै उपाधियात्रा तय गरेको हो। नेपाल र भारतबीच दोस्रो सेमिफाइनल केही प्रतिस्पर्धात्मक बन्यो।
तर, नतिजामा भने उस्तै रह्यो। भारतले अवसर सदुपयोग गर्दै जित निकाल्यो। खेलको १४औं मिनेटमै भारतले पहिलो आक्रमण बुन्यो। गुनलेइबाले अवसर सिर्जना गरेका थिए। तर, उनको प्रहार नेपाली गोलकिपर राम बोहरासम्म पुग्न नपाउँदै राइटब्याक भुवन कामीले खतरा टारिदिए।
केही समयमा नै भारतले पुनः अर्को अवसर बुन्यो। तर, डल्लालमौन गाङ्टेको प्रहारले पोस्टको दिशा लिन सकेन। २५औं मिनेटमा फरवार्ड रहान अहमदको फ्रिहेडरले जाली चुम्न असफल भयो।
माल्दिनो सिंहले पेनाल्टी बक्स बाहिरबाट दिएको सुन्दर क्रसमा अनमार्क रहानले सदुपयोग गर्न नसकेका हुन्। ३८औं मिनेटमा नेपालको अग्रता लिने योजनामा भारतीय गोलकिपर मानसज्योति बारुहले असफल बनाए।
२२ यार्ड टाढाबाट प्रतीश थापामगरको सशक्त प्रहार मानसज्योतिले डाइभ गर्दै बाहिर पठाइदिए। त्यसपछि प्राप्त कर्नरमा पनि नेपालले सफलता पाएन। पहिलो हाफको थप समयमा भारतका कामगौहाओ डौङ्गेलले गोल अवसर सिर्जना गरे। तर, उनको प्रहारलाई कप्तान प्रशान्त मोक्तानले क्लियर गर्दै नेपालको संकट टारे। पहिलो हाफ गोलरहित बराबरीमा सकियो। तर, दोस्रो हाफमा तीन गोल भयो।
६१औं मिनेटमा गुनलेइबाको गोलबाट भारतले अग्रता लियो। नेपाली रक्षापंक्तिले फुत्काएको बल सदुपयोग गर्दै गुनलेइबाले उत्कृष्ट गोल गरेका हुन्। ८०औं मिनेटमा भारतले काउन्टर अट्याकमा गोल गर्दै अग्रता दोब्बर बनाएपछि नेपाल पूर्ण दबाबमा पर्यो।
अजलान शाहले उत्कृष्ट ड्रिब्लिङ गर्दै एकल प्रयासमा गोल गरेका हुन्। इन्जुरी समयमा नेपालले तेस्रो गोल बेहोर्यो। गुनलेइबाको उत्कृष्ट कट ब्याक पासलाई डायमन्डले वान टचमार्पmत जाली चुमाएका हुन्।
यससँगै नेपाल भारतसँग सहजै पराजित भयो र दोस्रोपल्ट फाइनलमा पुग्ने लक्ष्य पूरा हुन सकेन। सन् २०२२ मा श्रीलंकामा नै नेपाल फाइनलमा पुगे पनि भारतसँग नै पराजित भएको थियो।
प्रकाशित: ९ आश्विन २०८२ २१:४० बिहीबार





