आइसीसी पुरुष टी-२० विश्वकप २०२६ मा नेपालले इटालीसँग लज्जास्पद हार व्यहोरेको छ।
मुम्बईको वानखेडे स्टेडियममा बिहीबार भएको समूह ‘सी’ को खेलमा नेपाल इटालीसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको हो।
नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले मात्र १२.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। इटालीलाई जिताउन ओपनर द्वय एन्थोनी मस्को र जस्टिन मस्कोले नेपाली बलरहरूलाई निरिह सावित गर्दै विष्फोटक ब्याटिङ गरे।
लक्ष्य पछ्याउने क्रममा इटालीका एन्थोनी मस्कोले मात्र ३२ बलमा ३ चौका र ६ विष्फोटक छक्का प्रहार गर्दै अविजित ६२ रन बनाए।
त्यस्तै, अर्का ओपनर जस्टिन मस्कोले ४४ बलमा ५ चौका र ३ छक्काको मद्दतले अविजित ६० रन जोडे। नेपालका कुनै पनि बलरले इटालीको ओपनिङ जोडीलाई दबाबमा राख्न सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा मात्र १२३ रनमा समेटिएको थियो। एक समय १३.४ ओभरमा ९३/३ को बलियो स्थितिमा रहेको नेपालले त्यसपछिको ३० रन जोड्दा बाँकी ७ विकेट गुमाएपछि इनिङ्स धरासायी बनेको थियो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७, कप्तान रोहित पौडेलले २३ र आसिफ शेखले २० रन बनाए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले १७ र करण केसीले १८ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्।
कुशल भुर्तेल (५), लोकेश बम (३), गुलशन झा (३), नन्दन यादव (०) र ललित राजवंशी (०) को प्रदर्शन निकै फितलो रह्यो।
नेपालका मुख्य बलरहरू वानखेडेको पिचमा महँगा सावित भए। सन्दीप लामिछानेले ३ ओभरमा ३१ रन खर्चिए भने ललित राजवंशीले १ ओभरमै १९ रन दिए।
दीपेन्द्र सिंह ऐरी, करण केसी र नन्दन यादवले पनि इटालीको रन गति रोक्न सकेनन्। इटालीका लागि क्रिशन कालुगामेगेले ३ र बेन मनेन्टीले २ विकेट लिएका थिए।
प्रतियोगिताको पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपालको यो लगातार दोस्रो हार हो। तुलनात्मक रूपमा कमजोर मानिएको इटालीसँगको यो लज्जास्पद पराजयले नेपालको सुपर-८ पुग्ने सम्भावना अब गणितीय रूपमा मात्र जीवित छ।
ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो।
प्रकाशित: २९ माघ २०८२ १७:५४ बिहीबार





