अग्रता उल्ट्याउँदै नेपालले भुटानमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा दोस्रो खेलबाट पहिलो जित निकालेको छ ।
चाङ्लिमिथाङमा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली भुटानमाथि २–१ को पुनरागमन जित निकालेको हो । नेपालको जितमा दुवै गोल सहारा लिम्बुले गरिन् । भुटानका लागि कुन्डेन सोनाम शेगेलले गोल गरेकी थिइन् । पहिलो जितसँगै नेपालले दुई खेलमा तीन अंक जोडेको छ । पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले तीन परिवर्तन गरेका थिए । प्रशिक्षक श्रेष्ठले पहिलो रोजाइकी गोलकिपर झरना डुम्राकोटीलाई आराम दिँदै उनको स्थानमा लक्ष्मी ओलीलाई मौका दिएका थिए ।
डिफेन्समा मिनमाया श्रेष्ठ र मिडफिल्ड दिकी स्याङ्गो तामाङलाई आराम दिइएको थियो । लेफ्ट ब्याक अनु माझी र सेन्ट्रल मिडफिल्डर रविना विकले पहिलो रोजाईमा मौका पाएका थिए । रबिना र अनु दुवै भारतविरुद्धको पहिलो खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा झरनालाई प्रतिस्थापन गरेकी लक्ष्मीले पनि केही मिनेट पाएकी थिइन् । प्रशिक्षक श्रेष्ठले तीन परिवर्तन गरे पनि भुटानले सुरुआती गोल गर्दै उनको योजना पूरा हुन नदिने संकेत ग¥यो । तर, साहारा चम्किँएपछि नेपालले साँघुरो जित निकाल्यो । खेलको ४२औं मिनेटमा शेगेलको गोलमार्फत भुटानले अग्रता लिएको थियो । यससँगै पहिलो हाफमा नेपाल १–० ले पछाडि पर्यो ।
यो गोलसँगै पहिलो हाफमा घरेलु टोलीले दबाब बनायो । तर, नेपाली टोलीले दोस्रो हाफमा दुई गोल फर्काउँदै खेलमा फर्कियो । सहाराले ५८औं मिनेटमा गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन् । त्यसपछि ७६औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–१ ले अग्रता दिलाइन् । त्यसपछि दुवै तर्फबाट हुन सकेन र नेपालले साँघुरो जित निकाल्यो । यससँगै साहारा नेपाललाई स्पष्ट तीन अंक दिलाइन् । अब नेपालले आइतबार बंगलादेशसँग खेल्नेछ । चार राष्ट्र सम्मिलित च्याम्पियनसिप डबल राउन्ड रोबिनको हुनेछ । लिगको शीर्ष स्थानमा रहने टोली नै विजेता बन्नेछ ।
तस्बिर : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)











प्रकाशित: ६ भाद्र २०८२ २१:३० शुक्रबार





