२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

बंगलादेश ‘ए’ विरुद्ध टस हारेर फिल्डिङमा नेपाल

अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्डमा बंगलादेश ‘ए’ ले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो।

सिरिजमा पहिलो जितको खोजीमा रहेका दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए। शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ‘ए’ लाई पाकिस्तान शाहिन्सले ७९ रनले हराएको थियो।

बंगलादेश ‘ए’ विरुद्धको खेलका लागि नेपालले प्लेइङ-११ मा तीन खेलाडी परिवर्तन गरेको छ। पहिलो खेल खेलेका सोमपाल कामी, शाहब आलम र रुपेश सिंहको स्थानमा तीव्र गतिका बलर करण केसी, नन्दन यादव र रिजन ढकालले मौका पाएका छन्।

नेपालले यही वर्षको अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी-२० विश्वकपको एसिया छनोट प्रतियोगिताको तयारीका लागि यो सिरिज खेलिरहेको हो। उक्त छनोटबाट शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपका लागि छनोट हुनेछन्।

यो सिरिजपछि नेपालले अस्ट्रेलियामै एक साता थप अभ्यास गर्नेछ। त्यस क्रममा क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने तालिका रहेको छ।

अस्ट्रेलिया भ्रमणपछि नेपालले सेप्टेम्बरमा यूएईमा वेस्ट इन्डिज ‘ए’ सँग तीन खेलको टी-२० सिरिज खेल्नेछ।

प्रकाशित: ३१ श्रावण २०८२ १५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App