नेपाली राष्ट्रिय महिला फुटबल टोली यतिबेला मैत्रीपूर्ण खेल खेल्न भारत आएको छ।
तीन राष्ट्र सम्मिलित मैत्रीपूर्ण अन्तर्राष्ट्रिय महिला फुटबल योबेला भारतको सिलोङमा जारी छ। नेपाल, इरान र घरेलु टोली भारतले सहभागिता जनाएको प्रतियोगिताको उपाधि भने इरानले जितिसकेको छ।
भारत र नेपाललाई सहजै पराजित गर्दै इरानले त्रिदेशीय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि जितेको हो। इरानले उपाधि जितेपनि भारत र नेपालबीच खेल्न हुन बाँकी छ। यो खेल सोमबार हुनेछ।
नेपाली टोली भारतलाई हराउने लक्ष्यमा छ। टोलीको कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले भारतविरुद्ध जित्नको लागि खेल्ने बताइन्। उनी भन्छिन्, ‘भारतीय टोली बलियो छ, उनीहरु एसियन कपमा छनोट भएपछि उनीहरुको आत्माविश्वास एकदमे बढी छ, हामीले भारतविरुद्ध जित्ने लक्ष्य बोकेका छौँ।’
नेपाली फुटबलमा भारत र नेपालको खेल सधैँ नै रोचक हुने गर्छ। यी दुई टोली चिरप्रतिन्दी हो। त्यस्तै, सोमबार हुने खेल पनि निकै रोचक हुने अनुमान छ।
यी दुवै टोलीले उपाधि नजिते पनि सान्त्वना जितको खोजी गर्नेछन्। त्यसैले सोमबार जितको लक्ष्य बोकेर दुवै टोली मैदान उत्रिने छन्। ‘भारतविरुद्ध खेल्न हाम्रो तयारी राम्रो भइरहेको छ, भारत जहिले पनि हाम्रो लागि राम्रो प्रतिद्वन्दी हो’, टोलीका मुख्य प्रशिक्षक नविन न्यौपाने भन्छन्, ‘हाम्रो लागि तीन अंक आवश्यक छ भारतलाई हराउने लक्ष्यसहित हामी मैदान प्रवेश गर्नेछ।’

यो प्रतियोगिता भारत र इरानले एफसीसी एसियन कपको तयारी स्वरुप खेलेका हुन्। यी दुवै टोलीले एसियन कप खेल्दै छन्। नेपालले भने, फिफा विन्डोको सदुपयोग गरेर यो प्रतियोगिता खेलेको हो।
तर, सोमबार हुने खेल रोचक किनपनि छ भने भारतले आफनै घरेलु मैदानमा खेल्दैछ। जसले गर्दा भारतले घरेलु मैदानको फाइदा उठाउने छ।
यता, नेपाल भारतलाई उसकै भूमिमा हराएर जित आफनो नाम गर्न चाहान्छ। ‘सोमबार हुने खेलमा भारत आफ्नै मैदानमा खेल्ने भएकोले गर्दा उनीहरुलाई प्लस पोइन्ट हुन्छ’ कप्तान भण्डारीले भनिन्, ‘हामी पनि उनीहरुलाई उनीहरुकै मैदानमा हराउन चाहान्छौँ।’
नेपाल र भारत हालसम्म १८ पटक आमने सामने भएका छन्। जसमा ११ खेल भारतले जित्दा ३ खेलमा नेपाल विजयी बनेको थियो।
त्यस्तै, चार खेल बराबरीमा सकिएको छ। यता, भारतीय भूमिमा नेपाल र भारत ६ पटक आमने सामने भएका छन्। जहाँ भारतले ३ खेल जित्दा नेपालले एक खेलमा मात्र जित हात पारेको छ। त्यस्तै, दुई खेल बराबरमिा रोकिएको थियो ।
यस्तो अवस्थामा नेपालभन्दा भारत नै बलियो देखिएको छ। इरानसँग खेलमा गरेको गल्ती भारतको खेलमा सुधार्ने प्रशिक्षक न्यौपानेले बताए। ‘हामीले इरानसँग खेलेको खेलमा गरेको गल्ती भारतसँगको खेलमा दोहोर्याउने छनौँ’, प्रशिक्षक न्यौपाने भने, ‘भारतविरुद्ध जितेर हामीले पोजेटिभ सन्देश नेपाली फुटबलप्रेमीहरुलाई दिन चाहान्छौँ।’
टोलीले यो प्रतियोगिताको लागि तीन हप्ता प्रशिक्षण गरेको थियो। भारत आउनुअघि टोलीले प्रतियोगिताको उपाधि जित्ने लिएको थियो। ‘समग्रमा हामी भारतसँग खेल्ने तयार छौँ, इरानसँगको गरेको गल्ती दोहराउने छनौँ’ कप्तान भण्डारीले भनिन्, ‘हाम्रो जुन दक्षिण एसियाली फुटबलको एउटा प्रतिष्ठाको लडाँइ छ, त्यसको लागि तयार छौँ।’
यो खेल पछि नेपाल र भारतले कार्तिक १३ गते सिक्किममा अर्का एउटा मैत्रीपूर्ण खेल खेल्ने छ।
प्रकाशित: ९ कार्तिक २०८२ २२:०६ आइतबार





