२३ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

नेपाल ‘ए’ लाई टिम स्पर्धामा स्वर्ण, व्यक्तिगततर्फ सद्भावको अग्रता कायम

नेपाल ‘ए’ १२औं नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जित्न सफल भएको दिन व्यक्तिगत स्पर्धामा पनि सद्भाव आचार्यले चुनौती जारी राखेका छन् ।

गोकर्ण गल्फ क्लबमा बिहीबार सद्भाव र राहुल विश्वकर्माको जोडीले भारतीय जोडीले तरुण सरदेशाई एकेडेमीलाई हराउँदै स्वर्ण जितेको हो । साबिक विजेता सद्भाव र राहुलको जोडीले १३ अन्डर २ सय ७५ को उत्कृष्ट प्रदर्शन गरे । भारतीय टोली १९ स्ट्रोकले पछि रह्यो । भारतकै तरूण सरदेशाई एकेडेमी दोस्रो र श्रीलंका तेस्रो भए ।

भारतका प्रिन्स बैंन्सला र भिभान उभायाकारको जोडीले ६ ओभर २ सय ९४ को स्कोर बनाए । श्रीलंकाका के दानुसा र चनाका परेराको जोडीले आठ ओभर २ सय ९६ स्कोर गरे । भुटान चौथो, बंगलादेश पाँचौं र नेपाल ‘बी’ छैटौं स्थानमा खुम्चिए । व्यक्तिगत विधामा पनि नेपालका सद्भावले अग्रता बनाएका छन् । उनले दोस्रो दिन ६ अन्डर ६६ को कार्ड बनाए ।  

उनको बोगीरहित प्रदर्शन रह्यो । यससँगै समग्रमा उनी ९ अन्डर १ सय ३५ को स्कोरमा शीर्ष स्थानमा रहेका हुुन् । सदभावले फ्रन्ट र ब्याक दुवै तीन अन्डर ३३ मा सकाए । उनले पहिलो तेस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे । यसपछि १२औं, १५औं र १८औं होलमा पनि एक–एक सट बचाए । दोस्रो स्थानमा पनि नेपालकै राहुल विश्वकर्मा छन् । उनी पाँच स्ट्रोकले पछि छन् । 

राहुले बिहीबार पाँच अन्डर ६७ को कार्ड बनाए । यससँगै उनी समग्रमा चार अन्डर १ सय ४० स्कोर बटुल्न सफल भए । राहुले दोस्रो होलमा बोगी खेपे । तेस्रो र सातौं होलको बर्डीले फ्रन्ट नाइन एक अन्डर ३५ खेले ।  

ब्याक नाइनमा उत्कृष्ट प्रदर्शनका साथ १०औं, ११औं, १४औं र १८औं होलमा बर्डीको सफलता प्राप्त गरे । ब्याक नाइनमा चार अन्डर ३२ को उत्कृष्ट प्रदर्शन गरे । भारतका भिभान समग्रमा तीन अन्डर १ सय ४१ सहित तेस्रो स्थानमा छन् । उनले तीन अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए ।  भारतका निखिल पाण्डे समग्रमा दुई अन्डर १ सय ४२ को स्कोरमा चौथो स्थानमा छन् । उनले बिहीबार एक ओभर ७३ को कार्ड बनाए । 

श्रीलंकाका के दानुसा पाचौं स्थानमा छन् । उनले चार ओभर ७६ को स्कोरसहित समग्रमा एक ओभर १ सय ४५ को कार्ड बटुले । भुटानका डेचेन लेन्डुपले दुई ओभर ७४ सहित समग्रमा दुई ओभर १ सय ४६ को स्कोरमा छैटौं स्थानमा रहे ।  

भारतका निलोफर शिवमुर्ती, नेपालका तेन्जिङ छिरिङ, नोर्बु छिरिङ शेर्पा र बंगलादेशका मोहम्मद सरिफ (समग्रमा तीन ओभर १४७) ले संयुक्त रूपमा सातौं स्थान बाँडे । निलोफोर, तेन्जिङ र नोर्बुले समान एक ओभर ७३ मा खेल सकाए । मोहम्मदले दुई ओभर ७४ को कार्डमा खेले । भीभानले फ्रन्ट नाइन इभन पार ३६ खेले । पहिलो, तेस्रो र चौथो होलमा बर्डी प्रहार गर्दा दोस्रो, सातौं र आठौं होलमा समा एक सट खेर फाले । उलने दशौं, ११औं र १८औं होलको बर्डीले ब्याक नाइन ३–अन्डर ३३ मा सकाए । ३६ होलको समाप्तीमा (२१ ओभर १ सय ६५ स्कोर) कुल ३१ खेलाडीले कट बनाएका छन् ।  

महिलामा तारा कार्की चित्रकार समग्रमा १३–ओभर १ सय ५७ सहित शीर्षस्थानमा रहिन् ।

उनले बिहीबार ९ ओभर ८१ को प्रदर्शन गरिन् । उनले अन्तिम १८ होलको खेल बाँकी छँदा सम्झना खत्रीलाई १४ स्ट्रोकले पछि पारेकी छिन् । १४–ओभर ८६ सहित समग्रमा २७–ओभर २ सय ७१ सहित सम्झना दोस्रो स्थानमा छिन् । अभानी राईले २१–ओभर ९३ को प्रदर्शन गर्दा समग्रमा ३० ओभर १ सय ७४ सहित तेस्रो स्थानमा रहिन् । महिलामा भारतकी नयोनिका कपुर तथा नेपालका सुष्मा सिग्देल र अन्जिला योन्जनले पनि कट बनाए । यु–१७ तर्फ भारतका भीभान उभायाकारले समग्रमा ३–अन्डर १ सय ४१ सहित ६ स्ट्रोकको अग्रता बनाएका छन् ।

उनले बिहीबार तीन अन्डर ६९ मा खेल सकाए । भारतकै निलोफर शिवमुर्ती समग्रमा ३–ओभर १ सय ४७ सहित दोस्रो स्थानमा छन् । उनले बिहीबार एक ओभर ७३ को कार्ड बनाए । भारतकै प्रिन्स बैंन्सला ९ ओभर १ सय ५३ को स्कोरमा तेस्रो स्थानमा रहे। उनले दोस्रो दिनको खेल चार ओभर ७६ मा पूरा गरे ।

प्रकाशित: १४ जेष्ठ २०८३ २०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App