सन् २०२६ फिफा विश्वकपमा अर्जेन्टिना चर्चा र विवादको केन्द्रमा रहँदै आएको छ।
दोस्रो सेमिफाइनलमा बुधबार साविक विजेता अर्जेन्टिना र इंग्ल्याण्ड भिड्दैछन्। अर्जेन्टिना र इंग्ल्याण्डबिचको यस महाभिडन्त नेपाली समयअनुसार बिहीबार बिहान १२:४५ बजे (बुधबार मध्यराति) सुरु हुनेछ।
यसबिच इन्टरनेटमा एक अभियान नै चलाइएको छ। अर्जेन्टिना हराउने। अहिले अर्जेन्टिनालाई विश्वकपबाट निष्कासन गर्नुपर्ने माग राख्दै ‘अर्जेन्टिनाआउट डट ओरजी’ नामक वेवसाइट संचालनमा ल्याइएको छ। यो समाचार तयार पार्दासम्म ९८ लाख ८६ हजारभन्दा बढी मानिसहरूले हस्ताक्षर गरिसकेका छन्।
यो संख्या निरन्तर बढ्दै गइरहेको छ। वेवमा भनिएको छ, ‘फिफा र रेफ्रीहरू लियोनेल मेस्सी र अर्जेन्टिनाप्रति पक्षपाती छन्। विजेताको निर्णय भइसकेको बेला बाँकी विश्वले किन प्रतिस्पर्धा गर्ने ? अर्जेन्टिनालाई विश्वकपबाट बाहिर निकाल्नुहोस् र अरू सबैलाई उचित मौका दिनुहोस्।'
यसका साथै, रेफ्रीहरूले अर्जेन्टिनाका पक्षमा बारम्बार एकपक्षीय निर्णय लिएको, कप्तान लियोनेल मेस्सीलाई विशेष संरक्षण दिइएको, भिएआरको प्रयोग अर्जेन्टिनाको अनुकूल हुने गरी मात्र गरिएको, शंकास्पद पेनाल्टी दिइएको र विपक्षी टोलीका स्पष्ट गोलहरूलाई गलत आधारमा खारेज गरिएको उल्लेख छ।
याचिकाकर्ताहरूले अर्जेन्टिनाले खेलको गतिलाई अनावश्यक रूपमा ढिलो गरेको, ‘फेयर-प्ले’ को उल्लंघन भएको र फिफाको व्यावसायिक स्वार्थका लागि नतिजा प्रभावित पारिएको आरोप लगाएका छन्। उक्त साइटमा अहिले सम्मकै उत्कृष्ट खेलाडीमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको तुलना पनि गरिएको छ। जसमा रोनाल्डो ठूलो मतान्तरले अघि छन्।
अर्जेन्टिनाका म्यानेजर लियोनेल स्कालोनीले यी सबै आरोपहरूलाई आधारहीन भन्दै खारेज गर्दै आएका छन्। उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘भिएआर र आज हामीसँग भएको सबै आधुनिक प्रविधिको साथ, कसैलाई मद्दत गर्न असम्भव छ। खेलको समयमा हुने हरेक फाउल र निर्णयहरू प्रविधिको जाँचबाट गुज्रिन्छन्।’
इजिप्टविरुद्धको राउन्ड अफ १६ खेलमा देखिएको विवादास्पद नतिजापछि इजिप्टका म्यानेजर होसम हसनले खेललाई अन्यायपूर्ण भनेका थिए। उनले थपेका थिए, ‘फिफाले फेयर प्लेको नारा दिन्छ, तर मैदानमा हामीले त्यो देखेनौं।’
अन्तिम १६ को रोमाञ्चक खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३-२ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो। खेलमा इजिप्टले सुरुवाती २-० को अग्रता लिए पनि खेलको अन्तिम समयमा कप्तान मेस्सी, क्रिस्टियन रोमेरो र एन्जो फर्नान्डेजको गोलको मद्दतले अर्जेन्टिनाले शानदार पुनरागमन जित दर्ता गरेको थियो।
यद्यपि, अर्जेन्टिनाले यी टिप्पणीहरूले आफूलाई थप राम्रो खेल्न प्रेरित गरेको बताएको छ।
इंग्ल्याण्ड र अर्जेन्टिनाको फुटबल इतिहास कटुता र अविस्मरणीय क्षणहरूले भरिएको छ। डिएगो म्याराडोनाको ‘ह्यान्ड अफ गड’ देखि सन् १९९८ को डेभिड बेकह्यामको रेड कार्डसम्म, यी दुई टोलीको भिडन्त सधैं चुनौतीपूर्ण हुने गरेको छ।
इंग्ल्याण्डका कप्तान ह्यारी केनले आफ्नो टोली यी सबै विवादबाट विचलित नभएको बताए। उनले भने, ‘हामीलाई थाहा छ अर्जेन्टिना कति चलाख टोली हो। तर हामी केवल आफ्नो खेलमा ध्यान दिइरहेका छौं।’
इंग्ल्याण्डका प्रशिक्षक थोमस टुचेलले पनि टोलीको मनोबल उच्च रहेको बताएका छन्। उनले थपे, ‘हामी यहाँ इतिहास कोट्याउन आएका होइनौं, हामी अर्को जित हासिल गर्न आएका छौं।’
अमेरिकाको जर्जियास्थित एटलान्टामा दुवै पक्षका हजारौं प्रशंसकहरू जम्मा भइसकेका छन्। टिकट नपाएका धेरै समर्थकहरू पनि आफ्नो राष्ट्रको टोलीलाई हौसला दिन सहरका फ्यान जोनहरूमा भेला भएका छन्।
विजेता टोलीले आइतबार हुने फाइनल खेलमा स्पेनको सामना गर्नेछ। स्पेनले पहिलो सेमिफाइनलमा बलियो टोली फ्रान्सलाई २-० ले हराउँदै १६ वर्षपछि फाइनल पुगेको हो।
एजेन्सीहरूको सहयोगमा
प्रकाशित: ३१ असार २०८३ १५:५२ बुधबार





