१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
खेल

नेसन्स लिगः फ्रान्सको विजयी यात्रा जारी, विश्व विजेता स्पेन क्रोएसियासँग भिड्दै

यूईएफए नेसन्स लिगको लिग चरणअन्तर्गत गएराति भएका खेलमा फ्रान्स र इटालीले जित निकालेका छन्। फ्रान्सले बेल्जियमलाई १-० ले हराउँदा इटालीले टर्कीलाई ४-१ ले पराजित गरेको हो।

बेल्जियमको मैदानमा फ्रान्सलाई जिताउन माइकल ओलिसेले खेल सकिन दुई मिनेट बाँकी हुँदा निर्णायक गोल गरे। यस जितसँगै जिनेदिन जिदानको प्रशिक्षणमा फ्रान्सले आफ्नो विजयी यात्रा जारी राखेको छ।

यस्तै, इटालीले टर्कीमाथि ४-१ को प्रभावशाली जित निकाल्यो। इटालीका लागि एलेसान्द्रो बास्टोनी, डेभिडे फ्राटेसी, माइकल कायोडे र पियो एस्पोसिटोले गोल गरे। टर्कीका बारिस अल्पर यिल्माजले सान्तवना गोल फर्काए।

गएराति नै भएका अन्य खेलमा बोस्निया एन्ड हर्जगोभिनाले रोमानियालाई ४-२ ले हरायो भने स्विडेन पोल्यान्डसँग १-३ ले पराजित भयो। जर्जिया र युक्रेन तथा उत्तरी आयरल्यान्ड र हंगेरीबीचको खेल गोलरहित बराबरीमा सकियो। आर्मेनियालाई ३-२ ले हराउँदै मोन्टेनेग्रोले समूह ‘सी’ मा लगातार दोस्रो जित निकाल्यो। लाट्भिया र साइप्रसबीचको खेल पनि गोलरहित बराबरीमा सकियो।

यसअघि आइतबार नेदरल्यान्ड्सले सर्बियालाई २-१, ग्रिसले जर्मनीलाई १-०, डेनमार्कले वेल्सलाई २-० र पोर्चुगलले नर्वेलाई २-१ ले हराएका थिए।

नेसन्स लिगमा आज राति १० खेल हुँदैछन्। समूह ‘ए’ मा चेकिया र इंग्ल्यान्ड तथा स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ।

समूह ‘बी’ मा स्कटल्यान्डले स्विट्जरल्यान्ड तथा स्लोभेनियाले नर्थ म्यासेडोनियाको सामना गर्नेछन्।

यस्तै, समूह ‘सी’ मा फिनल्यान्ड र बेलारुस, मोल्डोभा र फारो आइल्यान्ड्स, सान मारिनो र अल्बानिया, स्लोभाकिया र कजाखस्तान तथा बुल्गेरिया र इस्टोनिया भिड्नेछन्। लक्जेम्बर्ग र आइसल्यान्डबीच पनि खेल हुनेछ।

आजको सबैभन्दा चर्चित खेलमा चेकियाले घरेलु मैदानमा इंग्ल्यान्डको सामना गर्नेछ। अर्को खेलमा विश्वकप विजेता स्पेनले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ। दुवै खेल नेपाली समयअनुसार १२ः३० बजे सुरु हुनेछन्।

प्रकाशित: १३ आश्विन २०८३ ०७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App