नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले भलिबलबाट विश्राम लिने निर्णय गरेका छन्।
बुधबार बिहान उनले सामाजिक सञ्जाल फेसबुकमा आफू भलिबबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन, ‘पेशा र राष्ट्रको खातिर पटक- पटक अपहेलना सहेर थोरै भएपनि केही गरौँ भन्ने सोचका साथ लागेको थिएँ, तर अब त्यो अवस्था रहेन्। त्यसैले राष्ट्रिय खेलकुद परिषदको कार्यबाहक त्यो पनि जागिर रहन्जेलसम्म संग्लन रहने छु’ उनले लेखेका छन्।
पछिल्लो समय उनी खेलाडी छनोटको कारण चौतर्फी आलोचना खेपिरहेका थिए । त्यो आलोचना कै कारण उनी प्रशिक्षकको भूमिकाबाट बाहिरिने निर्णयमा पुगेका हुन् ।
‘पटक पटक कठिन परिस्थिति पार गर्दै यहाँसम्म आइपुग्दा हरेक समयमा नेपाली भलिबल खेललाई परिणाममुखि बनाउन खेपेको चुनौती कि मलाई नजिकबाट सहयोग गर्ने, कि मलाई मात्रै थाहा छ। अभाव र प्रभावका बीच निस्वार्थ भावले काम गर्दा आफ्नै भलिबल परिवारबाट पाएको असहयोग र पटक पटक खेप्नु परेको आलोचनाको पीडाले मेरो स्वास्थ्य अवस्था समेत बिग्रिएको छ। त्यसैले नकारात्मक, निराशावादी र स्वार्थी व्यक्तिहरूको झुन्डबाट अलग हुँदै अब बिश्राम लिने निर्णय लिएको छु’, प्रशिक्ष भट्टले फेसबुकमा लेखेका छन् ।
प्रकाशित: ८ आश्विन २०८२ १६:२४ बुधबार





