उदयपुरको जेठो तथा ठूलो धनराशी पुरस्कारको ‘नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०८२’मा ऐतिहासिक नाफा भएको छ। आयोजक बसाहा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताबाट यस वर्ष १९ लाख बढी नाफा कमाएको जानकारी दिएको हो।
जिल्लाको चौदण्डीगढी नगरपालिका ४ बसाहा बर्खेडाँडास्थित नारद आदर्श रंगशालामा माघ १५ देखि २२ गते सुरु भएर २२ गते सम्पन्न भएको एघारौँ संस्करणको प्रतियोगिताले ऐतिहासिक सफलतासँग नाफामा पनि नयाँ रेकर्ड कायम गरेको क्लबका अध्यक्ष दिनेश राईले बताए। रङ्गशालामै आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले विगत १५ वर्षदेखि प्रतियोगिता गराउँदै आएको क्लबले यस वर्ष भने ऐतिहासिक नाफा कमाएको बताए।
खेल संयोजक सिद्धराज राईले प्रतियोगिताको आम्दानी तथा खर्च विवरण प्रस्तुत गर्दै गोल्डकपका लागि ४२ लाख १९ हजार ६ सय ३६ रुपैयाँ आम्दानी गरेको जानकारी दिए। जसमध्ये २३ लाख १९ हजार १ सय २३ खर्च भएको र १९ लाख ५ सय १३ रुपैयाँ नाफा भएको जानकारी दिए। उदयपुरकै खेलकुद इतिहासमा यो नाफा ठूलो र ऐतिहासिक उपलब्धि भएको उनले बताए।
प्रतियोगितामा पुरस्कार, ट्रफी, प्रमाणपत्र, मञ्च व्यवस्थापन, अतिथि सत्कार, व्यानर, तुल प्रचार प्रसार सबैमा ८ लाख ६७ हजार खर्च भएको छ भने अन्य खर्च व्यवस्थापनमा भएको हो। विजेतालाई ५ लाख नगद तथा ट्रफी र प्रमाणपत्र दिँदै आएको प्रतियोगितामा उपविजेताले ३ लाख पाउँदै आएको छ। विधागत पुरस्कार जनही ५ हजारका दरले वितरण गर्ने गरिएको संयोजक राईले बताए।
आम्दानीतर्फ चौदण्डीगढी नगरले १० लाखसहित विभिन्न स्थानीय तहबाट १३ लाख ५ हजार प्राप्त भएको विवरणमा उल्लेख छ। बसाहा र उदयपुर स्थायी घर भई विभिन्न देश विदेश रहेका इच्छुकहरूबाट १५ लाख ६६ हजार २ सय, विभिन्न संघसंस्था तथा निजी कम्पनीहरूबाट ५ लाख ५८ हजार ४ सय ७६ रुपैयाँ, टोल विकास संस्थाहरूबाट २ लाख ६१ हजार ४ सय, बसाहा सेवा समाज युके (बेलायत)बाट १ लाख ५० हजार, बसाहा सेवा समाज हङकङबाट १ लाख २० हजार र गोर्खा सेक्युरिटी युनिट ब्रुनाईबाट १ लाख २० हजार प्राप्त भएको छ। स्थानीय निजी विद्यालयहरूले ९९ हजार ५ सय ५५ र सामुदायिक विद्यालयहरूले ६६ हजार ५ रुपैयाँ दिएको क्लबले जनायो।
प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता महानुभावलाई आयोजक क्लबले आभार व्यक्त गरेको छ। गोल्डकप सफल बनाउन समस्त बसाहाबासी, चौदण्डीगढी नगर, १० वटै वडा तथा देश विदेशमा रहेका सहयोगी मनहरू प्रति नमन व्यक्त गरेको छ।
क्लबका पूर्व अध्यक्ष शेखर राईले दशौँ संस्करणसम्म धेरै दुःखले प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले एघारौँमा यसरी प्रगति गर्नु धेरै प्रशंसनीय भएको बताए। सुरुवाती ताका व्यक्तिव्यक्तिसँग चन्दा मागेर र भोकै प्यासै खटेर प्रतियोगिता आयोजना गरेको स्मरण गराउँदै पूर्व अध्यक्ष राईले बसाहा क्लब अब आत्मनिर्भर बन्दै गएकोमा खुसी व्यक्त गरे।
अर्का पूर्व अध्यक्ष भूपेन्द्र राईले बसाहाका संस्थापक आदर्श व्यक्तित्व स्वर्गीय नारदमुनि थुलुङको स्मृतिलाई ताजा बनाइराख्न क्लबले स्थापनाकालदेखि गोल्डकप प्रतियोगिता गराउँदै आएको बताए। लामो समयदेखि आत्मनिर्भर बनाएर प्रतियोगिता सञ्चालन गर्ने आफ्नो उद्देश्यले बल्ल मूर्त रूप लिएको पूर्व अध्यक्ष राईको भनाइ थियो।
क्लबले प्रतियोगितालाई पारदर्शी र जिम्मेवारीपूर्वक सफल बनाउन खेलअघि र भएपछि पत्रकार सम्मेलन गरेर आयव्यय सार्वजनिक गर्ने गरेको अध्यक्ष राईले बताए। क्लबको यो सफलताबाट पदाधिकारी अझ जिम्मेवार भएर लाग्दै भावी दिनमा राष्ट्रिय स्तरको धनी क्लबको हैसियतमा उक्लिन सक्ने मनोबल बढेको छ।
राणाशासनविरुद्ध भएको ००७ सालको प्रजातान्त्रिक आन्दोलनका क्रान्ति नायक नारदमुनि थुलुङको स्मृतिमा हुँदै आएको यो गोल्डकपले फुटबल खेलक्षेत्रमा बसाहा मात्र नभई सिंगो उदयपुर र देशकै प्रतिष्ठा उचो बनाउने अपेक्षा क्लबले गरेको छ। विगतका प्रतियोगितामा भारतको समेत सहभागिता रहेको प्रतियोगिताले खेलकुदको माध्यमबाट संसारलाई जोड्ने भावी योजना बनाउन लागेको अध्यक्ष राईले बताए।
प्रतियोगिताले सामाजिक एकता, सद्भाव, पर्यटन प्रवर्द्धन र स्थानीय व्यापार व्यवसाय तथा सांस्कृतिक पहिचान र सामुदायिक सहभागिता उजागर गर्ने क्लबको दाबी छ। ‘सुन्दर समृद्ध नगर बनाउने अभियान–हरेक नगरबासीको मुहारमा मुस्कान’ भन्ने नारा तय गरेको क्लबले स्वास्थ्य जीवन, असल तथा सभ्य समाज निर्माण तथा ‘स्वस्थ मन, स्वस्थ जीवन, लैङ्गिक हिंसा अन्त्य अभियान’को सन्देशसहित अघि बढेको जनाएको छ।
प्रकाशित: २९ माघ २०८२ १२:४४ बिहीबार





