१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एल क्लासिको: लयमा रियल, दबाबमा बार्सा

स्पेनिस ‘ला-लिगा’ मा आइतबार यस सिजनको पहिलो एल क्लासिको खेलिँदैछ। दुई चिरप्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन्।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा नेपाली समयअनुसार साँझ ९:०० बजे सुरु हुने यो खेलमा लिगको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड र दोस्रो स्थानको बार्सिलोनाबीचको प्रतिस्पर्धाले उपाधि होडमा महत्वपूर्ण प्रभाव पार्नेछ।

जाभी अलोन्सोको प्रशिक्षणमा रहेको रियल म्याड्रिड ९ खेलबाट २४ अंकसहित लिगको शीर्ष स्थानमा छ भने डिफेन्डिङ च्याम्पियन बार्सिलोना २२ अंकसहित दोस्रो स्थानमा छ।

आइतबारको जितले रियललाई बार्सिलोनाभन्दा ५ अंकले अगाडि बढाउनेछ। गत सिजन बार्सिलोनाले घरेलु उपाधि जित्ने क्रममा रियललाई चार पटक पराजित गरेको थियो। तर यसपटक रियल म्याड्रिड बलियो लयमा देखिएको छ।

रियल म्याड्रिडका लागि फ्रान्सेली स्टार केलियन एमबाप्पे उत्कृष्ट लयमा छन्। उनले हालसम्म लिगमा १० गोल गरिसकेका छन् र ला लिगाका सर्वाधिक गोलकर्ता हुन्।

गत सिजन बार्सिलोनाविरुद्धका चार एल क्लासिकोमा ५ गोल गरेका एमबाप्पे यस खेलमा पनि बार्सिलोनाका लागि सबैभन्दा ठूलो खतरा बन्नेछन्।

यता, बार्सिलोना भने प्रमुख खेलाडीहरूको चोटका कारण समस्यामा परेको छ। स्ट्राइकर रोबर्ट लेवान्डोस्की, ड्यानी ओल्मो, राफिन्हा र गाभी जस्ता महत्वपूर्ण खेलाडीहरू घाइते छन्।

प्रशिक्षक हान्सी फ्लिक पनि रातो कार्डका कारण खेलमा अनुपस्थित रहनेछन् र उनको स्थानमा सहायक प्रशिक्षक मार्कस सोर्गले टोली सम्हाल्नेछन्। यद्यपि, फ्रेन्की डि योङ र जुल्स कुन्डे टोलीमा फर्कंदा बार्सिलोनालाई केही राहत मिलेको छ।

यस पटकको एल क्लासिको अंग्रेजी खेलाडीका लागि पनि ऐतिहासिक बन्ने सम्भावना छ।

बार्सिलोनाबाट लोनमा खेलिरहेका मार्कस रासफोर्ड र रियल म्याड्रिडका जुड बेलिङ्घम तथा ट्रेन्ट अलेक्जेन्डर-आर्नोल्ड मैदानमा उत्रिएमा यो दुवै टोलीबाट अंग्रेजी खेलाडीले एकैसाथ खेलेको पहिलो एल क्लासिको हुनेछ।

हालसम्म भएका २६१ एल क्लासिकोमा रियलले १०५ र बार्सिलोनाले १०४ खेल जितेका छन्।

प्रकाशित: ८ कार्तिक २०८२ २२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App