८ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

आगामी जेठमा मिस्टर महानगर शारीरिक सुगठन हुने

दोस्रो मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप आगामी जेठ २९ र ३० गते हुने भएको छ।

काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता हुँदै छ।

प्रतियोगितामा पुरुषतर्फ कुल ९ विधामा प्रतिस्पर्धा हुने आयोजक वडा २२ का अध्यक्ष चिनिकाजी महर्जनले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। प्रतियोगितामा ६ तौलसमूह, दुई स्पोर्ट फिजिक्स र एक ओभरअल विधामा प्रतिस्पर्धा हुनेछ। महिलामा स्पोर्ट फिजिक्सअन्तर्गत खुल्ला प्रतिस्पर्धा गराइनेछ। महिला स्पर्धा यो संस्करणदेखि थपिएको हो।

पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दामाथि तौलसमूहमा प्रतिस्पर्धा गराइनेछ। स्पोर्ट फिजिक्स अन्तर्गत १७० सेमीभन्दा माथि र १७० सेमीसम्मको दुई विधामा प्रतिस्पर्धा गराइनेछ। प्रत्येक तौलसमूहका विजेताहरू दोस्रो मिस्टर महानगरको लागि ओभरअल प्रतिस्पर्धामा छनोट हुनेछन्।

ओभरअल प्रतिस्पर्धाका विजेता खेलाडीलाई दोस्रो मिस्टर महानगरको टाइटलसहित नगद पाँच लाख, ट्रफी र व्यानेटले पाउनेछन्। प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा हुने प्रतियोगिताको पहिलो दिन तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रिजजिङ र फाइनल खेल हुनेछ।

प्रत्येक तौलसमूह समूहमा प्रथम, दोस्रो, तेस्रो, चौथी र पाँचौं हुने खेलाडीले क्रमशः एक लाख, ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउनेछन्। स्पोर्ट फिजिक्स तर्फ पनि पुरुष र महिला दुवै विधामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख २५ हजार, ७५ हजार, ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउनेछन्।

पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदीले खेलाडीले समयमै राम्रो तयारी गर्न पाउने उद्देश्यअनुरूप ६ महिनाअगावै पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको बताए।

प्रकाशित: ६ पुस २०८२ ०८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App