नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दोस्रो माउन्ट एभरेस्ट जिसिएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी वान) फागुन १ गतेदेखि हुने भएको छ।
प्रतियोगितामा २० राष्ट्रका करिब १ हजार ५ सय खेलाडीको सहभागिता रहने आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। गेरोगी÷पुम्सेतर्फ जम्मा ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ को विशेष प्रशिक्षणमा रहेका खेलाडी पनि सहभागी हुने आयोजक संघका सदस्य कुमार लामा घिसिङले बताए।
उपाध्यक्ष चन्दले प्रतियोगिता सञ्चालन गर्न करिब ३ करोड खर्च लाग्ने बताए। प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक संघका सल्लाहकार परिषद्का अध्यक्ष एवं तेक्वान्दो संघका पूर्वअध्यक्ष प्रकाशशमशेर राणाको अध्यक्षतामा मुल आयोजक समिति गठन गरिएको छ भने विभिन्न १३ उपसमिति पनि गठन गरिएको छ। छदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइनेछ।
प्रकाशित: १२ माघ २०८२ ०८:२५ सोमबार





