फिफा विश्वकप फुटबल सुरु भएयता सहआयोजक मेक्सिकोका प्रमुख सहर मेक्सिको सिटी, ग्वाडालाहारा र मोन्टेरेमा हजारौं समर्थक सडक, चोक र फ्यान जोनमा जम्मा भएर उत्सव मनाइरहेका छन्।
तर लागूऔषध तस्कर समूहको हिंसाले प्रभावित देशका धेरै भागमा भने विश्वकपको माहोलभन्दा डर र असुरक्षाले प्राथमिकता पाएको छ। मिचोआकान, सिनालोआ, तामाउलिपास र भेराक्रुजजस्ता राज्यमा गोलीबारी र आपराधिक हिंसा दैनिकजस्तै हुने गर्छ। त्यसैले समर्थकहरू सार्वजनिक रूपमा उत्सव मनाउन हिच्किकाउँछन्।
अधिकांशले घरभित्र वा साथीभाइको घरमा बसेर खेल हेर्ने गरेका छन्। मिचोआकानका एक किसानले नाम नखुलाउने सर्तमा पहिले विश्वकपका बेला सबैजना भेला भएर खेल हेर्ने र बाजीसमेत लगाउने गरेको बताए। तर, अहिले त्यस्तो वातावरण नभइ थकान र डर रहेको उनको गुनासो छ।
हालै मात्र एक खेल चलिरहँदा कार्टेल समूह (तस्कर समूह) ले ड्रोनमार्पmत विस्फोटक आक्रमणसमेत गरेको थियो। सिनालोआ राज्यको राजधानी कुलियाकानमा पनि अवस्था फरक छैन। प्रतिद्वन्द्वी कार्टेल समूहबीच करिब दुई वर्षदेखि जारी हिंसाले त्यहाँको जनजीवन प्रभावित छ। धेरै नागरिक खेल हेरेपछि तुरुन्तै घर फर्कने गरेका छन्। स्थानीय रेष्टुरेन्ट सञ्चालक होसे मिगेल तानियामाले विश्वकपले व्यापार बढाउने अपेक्षा गरेका थिए। तर हिंसाका कारण ग्राहकको संख्या अपेक्षाअनुसार बढ्न नसकेको उनले बताए। ‘खेल सकिनेबित्तिकै सबै घरतिर दौडिन्छन्। व्यापार पहिलेका ठूला प्रतियोगिताजस्तो छैन,’ उनले भने।
गल्फ तटस्थित पोजा रिकामा पनि मेक्सिकोले उत्तर कोरियामाथि जित निकाल्दा पहिलेजस्तो सडकमा विजय उत्सव देखिएन। स्थानीय व्यवसायी गिलर्मो नुनेजले हिंसाको डरले मानिसहरूले राति बाहिर निस्कनै छाडेको बताए। यद्यपि राष्ट्रपति क्लाउडिया शिनबाउमले विश्वकपका कारण देशमा सकारात्मक वातावरण सिर्जना गरेको दाबी गरेकी छन्। मेक्सिकोले विश्वलाई खुसी, उत्साह र आतिथ्यको सन्देश दिएको उनी बताउँछिन्। विश्वकपको सुरक्षाका लागि एक लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको सरकारको भनाइ छ। सन् २०२४ को अक्टोबरपछि देशमा हत्या घटनामा कमी आएको सरकारी आँकडा छ।
जनवरीदेखि मेसम्म दैनिक औसत ५०.४ हत्या भएको तथ्यांक सार्वजनिक गरिएको छ भने जुन महिनामा यो संख्या घटेर ३९ मा पुगेको छ। तर सुरक्षा विश्लेषकहरूका अनुसार हत्या घटे पनि अपहरण, बेपत्ता हुने घटना र संगठित अपराधका गतिविधि अझै गम्भीर चुनौतीका रूपमा रहेका छन्। त्यसैले विश्वकपको रौनक देशका सबै क्षेत्रमा समान रूपमा महसुस हुन सकेको छैन। कतिपय समर्थक भने फुटबललाई केही समयका लागि हिंसा र त्रास बिर्सिने माध्यमका रूपमा लिइरहेका छन्। तर हिंसाग्रस्त क्षेत्रमा बस्ने धेरै नागरिकका लागि विश्वकपको खुसीभन्दा दैनिक सुरक्षाको चिन्ता अझै ठूलो विषय बनेको छ।
प्रकाशित: १३ असार २०८३ ०७:२८ शनिबार





