मेक्सिकोका दिग्गज गोलकिपर गुइलेर्मो ओचोआले २२ वर्ष लामो व्यावसायिक फुटबल करिअरलाई पूर्णविराम दिँदै सन्यासको घोषणा गरेका छन्।
मेक्सिकन फुटबल इतिहासकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने ओचोआले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
गत साता ४१ वर्ष पुगेका ओचोआले यसअघि नै २०२६ फिफा विश्वकप आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका थिए। त्यसपछि उनी नयाँ क्लबसँग सम्झौता गरेर खेल जीवन लम्ब्याउन सक्छन् भन्ने चर्चा चलेपनि उनले अन्ततः ती सबै अड्कलबाजीको अन्त्य गर्दै सन्यासको घोषणा गरेका हुन्।
‘मैले मेरो क्लब र राष्ट्रिय टोलीका लागि मैदानमा सबैथोक दिएँ। आज म मेरा पन्जा झुण्ड्याउँदै फुटबलसँग बिदा लिन्छु’, ओचोआले लेखेका छन्। उनले गोलकिपरको भूमिकालाई कठिन जिम्मेवारी भन्दै निर्णायक क्षणमा कहिल्यै पछि नहटेको बताए।
ओचोआ विश्व फुटबलका दुर्लभ खेलाडीमध्ये एक हुन्, जो छ वटा फिफा विश्वकपमा मेक्सिकोको टोलीमा परेका थिए। यो उपलब्धि क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीजस्ता केही खेलाडीले मात्रै हासिल गरेका छन्।
उनले ब्राजिल २०१४, रुस २०१८ र कतार २०२२ विश्वकपमा मेक्सिकोका पहिलो रोजाइका गोलकिपरको जिम्मेवारी सम्हालेका थिए।
उनको व्यावसायिक करिअर सन् २००४ मा क्लब अमेरिकाबाट सुरु भएको थियो। त्यसपछि उनले फ्रान्सको अजासियो, स्पेनका मालागा र ग्रानाडा, बेल्जियमको स्ट्यान्डर्ड लिज, इटालीको सालेर्निताना, पोर्चुगलको एभीएस फुटेबोल र साइप्रसको एईएल लिमासोलबाट समेत खेले। युरोपेली शीर्ष लिगमा खेल्ने पहिलो मेक्सिकोमा जन्मिएका गोलकिपरका रूपमा पनि उनले इतिहास रचे।
क्लब फुटबलमा उनले क्लब अमेरिकासँग २००५ क्लाउसुरा लिग उपाधि तथा स्ट्यान्डर्ड लिजसँग बेल्जियन कप जिते। राष्ट्रिय टोलीबाट उनले मेक्सिकोलाई छ पटक गोल्ड कपको उपाधि दिलाउन योगदान दिए भने टोकियो २०२० ओलम्पिकमा कांस्य पदक पनि जिते।
हालै सम्पन्न उत्तर अमेरिकी प्रतियोगितामा उनी दोस्रो रोजाइका गोलकिपरका रूपमा टोलीमा थिए। चेकियाविरुद्धको अन्तिम समूह चरणको खेलमा अन्तिम १३ मिनेट खेल्ने अवसर पाएपछि उनले आफ्नो करिअर सुरु भएको एज्टेका स्टेडियममा गोलपोस्टलाई चुम्बन गर्दै भावुक बिदाइ लिएका थिए।
प्रकाशित: ६ श्रावण २०८३ १७:२७ बुधबार





