२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

यमलसँगको भाइरल फोटोबारे मेस्सीले भने- हामी दुवै विश्वकप फाइनलमा भिड्नु अविश्वसनीय

तस्बिर : एएफपी

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले सामाजिक सञ्जालमा भाइरल बनिरहेको लामिन यमलसँगको आफ्नो पुरानो फोटो अविश्वसनीय रहेको बताएका छन्।

१७ वर्षपछि उनीसँगै विश्वकपको फाइनल खेल्न पाउनु निकै रोचक भएको मेस्सीले सुनाए। न्यूयोर्कमा आयोजित पत्रकार सम्मेलनमा एनएफएल लिजेन्ड टम ब्राडीले उक्त तस्बिरलाई भविष्यवाणी जस्तो भएको टिप्पणी गरेपछि मेस्सीले यस्तो प्रतिक्रिया दिएका हुन्।

सन् २००७ मा मेस्सीले ५ महिनाका यमललाई काखमा लिएको तस्बिरलाई लिएर मेस्सीले भने, ‘त्यो तस्बिर साँच्चै नै अविश्वसनीय छ। त्यतिबेला काखमा रहेका बालक यमल र म अहिले विश्वकपको फाइनलमा एकअर्का विरुद्ध भिड्दै छौं भन्ने कुरा सोच्दा पनि कता-कता पागलपन जस्तो लाग्छ।’

उक्त तस्बिर बार्सिलोनाले आयोजना गरेको एउटा परोपकारी फोटोसुटका क्रममा खिचिएको थियो। यमलका आमाबुबाले सो फोटोसुट जितेपछि तत्कालीन समयका २० वर्षीय मेस्सीले ५ महिनाका शिशु यमललाई काखमा लिएका थिए। त्यही बालक अहिले १९ वर्षको उमेरमा स्पेनलाई विश्वकपको फाइनलसम्म पुर्‍याउने मुख्य खेलाडी बनेका छन्।

यमलको खेल कौशलको प्रशंसा गर्दै ३९ वर्षीय मेस्सीले उनलाई विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक भएको बताए। उनले भने, ‘उनी एक अद्भुत खेलाडी र विश्वव्यापी स्टार हुन्। उनको सफलता नै बार्सिलोनाको सफलता हुनेछ। उनको करियर निकै लामो छ र म उनको उज्ज्वल भविष्यको कामना गर्दछु।’

यद्यपि, आइतबार हुने फाइनल खेलमा आफ्नो देशलाई उपाधि जिताउन मैदानमा कुनै कसर बाँकी नराख्ने मेस्सीले बताए। ‘हामी उनलाई आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्नबाट रोक्ने प्रयास गर्नेछौं,’ मेस्सीले भने, ‘यसपटक उनी च्याम्पियन नबनुन् भन्नका लागि अर्जेन्टिनाले मैदानमा आफ्नो सर्वस्व दिनेछ।’

न्यूयोर्कमा आयोजित उक्त विशेष पत्रकार सम्मेलनमा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेज र स्पेनका कप्तान रोड्री पनि उपस्थित थिए। रियो फर्डिनान्डले सञ्चालन गरेको सो कार्यक्रममा टेनिस स्टार नोभाक जोकोभिच र एनबीए स्टार केभिन डुरान्टले पनि खेलाडीहरूलाई प्रश्नहरू सोधेका थिए।

प्रकाशित: २ श्रावण २०८३ १९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App