इंग्ल्याण्डका मुख्य प्रशिक्षक थोमस टुचेलले अर्जेन्टिनाविरुद्धको खेलमा टोलीले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन निकाल्ने बताएका छन्।
इंग्ल्याण्डले बिहीबार अर्जेन्टिनासँग विश्वकपको सेमिफाइनल खेल्दैछ। यो जितेमा टोली १९६६ पछि पहिलो पटक विश्वकपको फाइनलमा पुग्नेछ।
घरेलु मैदानमा विश्वकप जितेपछि इंग्ल्याण्डले अहिलेसम्म कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन। त्यसैले यो खेललाई फुटबल इतिहासको सबैभन्दा महत्वपूर्ण अवसरमध्ये एक मानिएको छ।
बुधबार एटलान्टामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक टुचेलले विगतको इतिहासले आफूलाई दबाब नदिएको बताए।
‘मलाई कुनै बोझ महसुस भएको छैन। अवश्य पनि हामी तनाव र केही नर्भस हुनेछौं, तर त्यो यस्ता खेलका लागि स्वाभाविक कुरा हो,’ उनले भने।
उनले आफ्ना खेलाडीहरूको मानसिकता र प्रतिस्पर्धात्मक भावना आफूलाई सबैभन्दा बढी उत्साहित बनाएको बताए। ‘मलाई सबैभन्दा खुशी लाग्ने कुरा के हो भने खेलाडीहरू अत्यन्त प्रतिस्पर्धी छन्। उनीहरूमा जित्ने भोक छ र यस्तो ठूलो खेल खेल्न उत्साह पनि उत्तिकै छ,’ टुचेलले भने।
इंग्ल्याण्ड र अर्जेन्टिनाबीचको विश्वकप प्रतिद्वन्द्विता फुटबल इतिहासकै चर्चित प्रतिस्पर्धामध्ये एक हो। दुवै टोली यसअघि विश्वकपमा पाँच पटक आमनेसामने भएका छन्।
सन् १९८६ को क्वाटरफाइनलमा डिएगो म्याराडोनाले गरेको विवादास्पद ‘ह्यान्ड अफ गड’ गोल र त्यसपछि गरेको व्यक्तिगत उत्कृष्ट गोल फुटबल इतिहासकै सबैभन्दा चर्चितमध्ये पर्दछ। अर्जेन्टिनाले उक्त खेल २–१ ले जितेको थियो।
त्यसपछि १९९८ को विश्वकपमा डेभिड बेकह्यामले डिएगो सिमियोनलाई लात हानेपछि रातो कार्ड पाएका थिए। त्यो खेल पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले आफ्नो पक्षमा पारेको थियो।
टुचेलले इतिहासको महत्व स्वीकार गरेपनि आफू र टोलीको ध्यान वर्तमान खेलमै केन्द्रित रहेको बताए।
‘यी दुई टोलीका जर्सी आफैंमा प्रतिष्ठित छन्। इतिहासमा धेरै अविस्मरणीय खेल र क्षणहरू छन्। तर प्रशिक्षकको रूपमा हामीले नियन्त्रण गर्न सक्ने पक्षमा मात्रै ध्यान दिनुपर्छ’, उनले भने।
उनले प्रतिद्वन्द्विताको इतिहासलाई खेलाडीहरूलाई थप उत्तेजित पार्ने माध्यमका रूपमा प्रयोग नगर्ने स्पष्ट पारे।
‘हामी यहाँ किन छौं भन्ने हामीलाई थाहा छ। हाम्रो लक्ष्य स्पष्ट छ। सेमिफाइनलसम्म आइपुगेका छौं र अझै धेरै भोकाएका छौं,’ उनले थपे।
मेस्सी नै सबैभन्दा ठूलो चुनौती
३९ वर्षीय लियोनेल मेस्सी पहिलो पटक विश्वकपको नकआउट चरणमा इंग्ल्याण्डविरुद्ध खेल्दैछन्। प्रतियोगितामा हालसम्म आठ गोल गरिसकेका मेस्सी गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एमबाप्पेपछि दोस्रो स्थानमा छन्।
टुचेलले मेस्सीको प्रशंसा गर्दै उनलाई वर्णन गर्न शब्द नै नभएको बताए। ‘मेस्सीका लागि मसँग विशेष शब्द छैन। उनी असाधारण खेलाडी हुन्,’ उनले भने।
उनले थप भने,‘उनीहरूको टोलीमा राम्रो तालमेल छ। धेरै खेलाडी लामो समयदेखि सँगै छन्। साथै उनीहरूसँग अत्यन्त अनुभवी र उत्कृष्ट मुख्य प्रशिक्षक लियोनेल स्कालोनी छन्। हामीलाई थाहा छ हाम्रो अगाडिको चुनौती कति ठूलो छ, तर हामी त्यसका लागि तयार छौं,’ उनले भने।
टुचेलले सेमिफाइनलअघि सम्पूर्ण टोलीले प्रशिक्षण गरेको जानकारी दिँदै मिडफिल्डर डेक्लान राइस पूर्ण रूपमा फिट भएको बताए। राइस केही दिनअघि बिरामी परेका थिए। यद्यपि डिफेन्डर जारेल क्वान्साह भने मेक्सिकोविरुद्ध अन्तिम–१६ को खेलमा रातो कार्ड पाएपछि निलम्बनका कारण उपलब्ध हुने छैनन्।
इंग्ल्याण्डले यस विश्वकपमा प्रजातान्त्रिक गणतन्त्र कंगो, मेक्सिको र नर्वेमाथि संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको थियो।
टुचेलले प्रतियोगितामा कुनै पनि टोलीले सहज रूपमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्न नसक्ने उल्लेख गर्दै आफ्नो टोली अझै सुधारको चरणमै रहेको बताए।
‘यो मेरो पहिलो विश्वकप हो। प्रतियोगिताभर हरेक खेलमा सबै कुरा पूर्ण रूपमा मिल्नु दुर्लभ हुन्छ,’ उनले भने।
‘हामी अर्जेन्टिनाको उत्कृष्ट संस्करणको सामना गर्न तयार छौं। त्यस्तै हामी आफ्नै टोलीबाट पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्छौं’,उनले थपे, ‘हामी अझै शिखरमा पुगेका छैनौं। तर मलाई विश्वास छ, यो खेलले हामीबाट उत्कृष्ट प्रदर्शन निकाल्नेछ। त्यसका लागि हामी निकै उत्साहित छौं।’
यदि इंग्ल्याण्डले अर्जेन्टिनालाई पराजित गर्न सफल भयो भने उसले आइतबार हुने विश्वकप फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
स्पेनले पहिलो सेमिफाइनलमा दुई पटकको विश्व च्याम्पियन फ्रान्सलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
प्रकाशित: ३१ असार २०८३ १६:४६ बुधबार





