४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

बागलुङ महोत्सवको आकर्षण महिला भलिबलको उपाधि मेरो डेन्टल होमलाई

बागलुङ

आठौँ बागलुङ महोत्सवको अवसरमा आयोजना गरिएको गण्डकी प्रदेशस्तरीय खुला महिला भलिबल प्रतियोगिताको उपाधि मेरो डेन्टल होम बागलुङले जितेको छ । बुधबार भएको फाइनल प्रतिस्पर्धामा नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङलाई पराजित गर्दै डेन्टल होमले उपाधि चुमेको हो । मेरो डेन्टल होमलाई उपाधि दिलाउन प्रदेशस्तरीय खेलाडी रिक्जना माझीले महत्वपूर्ण भूमिका खेलिन् । खेल अवधिभर उत्कृष्ट खेल प्रस्तुत गरेकी उनले फाईनल खेलमा पनि निरन्तरता दिइन ।  

माझीले प्रहार गरेका शक्तिशाली स्माइकको जवाफ दिन नसक्दा नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङ उपविजेतमा चित्त बुझाउन पुग्यो । उनको उपस्थीतिले फाइनल खेल नै एकतर्फी भएको थियो । फाइनल खेलमा नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङलाई ०–३ को सेटमा पराजित गर्दै मेरो डेण्टल होमले उपाधि हात पारेको हो । पहिलो सेट २५–७ ले आफ्नो पक्षमा पारेको मेरो डेण्टल होमले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१७ ले जितेको थियो । उपाधि जितेको मेरो डेण्टल होमले ट्रफी सहित नगद ८१ हजार ५ सय रुपियाँ प्राप्त गर्‍यो । उपविजेता नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङले ट्रफीसहित नगद रु. ४१ हजार ५ सय रुपियाँ हात पारेको छ ।  

प्रतियोगितामा दि सिल्भर प्यालेस बागलुङलाई पराजित गर्दै २–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै निसी रिभर आइटिएफ बागलुङले तेस्रो स्थान प्राप्त गरेको छ । तेस्रो स्थान प्राप्त गरेको निसीले ट्रफीसहित २१ हजार ५ सय रुपियाँ प्राप्त गर्‍यो । सान्त्वना स्थान प्राप्त गरेको दि सिल्भर प्यालेसले ट्रफीसहित ११ हजार ५ सय रुपियाँमा चित्त बुझायो । महिला भलिबल प्रतियोगितामा ६ टिमको सहभागीता रहेको थियो ।

प्रतियोगिताभर उत्कृष्ट स्पाईक गरेकी रिक्जना माझी प्रतियोगिताकै उत्कृष्ट स्पाइकर घोषित भईन् । सर्वोत्कृष्ट खेलाडी मेरो डेन्टलकी पूजा सेन ठकुरी, बेस्ट सेटर मेरो डेन्टलकी रबिना घर्ती, बेस्ट ब्लकर नेपाल सुनचाँदी व्यवसायी संघकी सोनी फगामी, बेष्ट सर्भर मेरो डेन्टलकी रोस्मिना गुरुङ, बेष्ट डिफेन्डर मेरो डेन्टलकै विपु पुन, उत्कृष्ट नवोदित खेलाडी दि शिल्भर प्यालेसकी सुप्रिया विक तथा बेष्ट कोच मेरो डेन्टलका सुशिल पौडेल घोषित भए ।  

उनीहरुलाई नगद पुरस्कार र ट्रफी प्रदान गरियो । महोत्सवको मुख्य आकर्षण गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता (बिहिबार)देखि सुरु हुने प्रतियोगिताका संयोजक अकिल बहादुर क्षेत्री (धु्रव)ले जानकारी दिए । पुरुष भलिबल प्रतियोगितामा १४ टिम सहभागी रहेको संयोजक क्षेत्रीले बताए । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ गतेदेखि सुरु भएको आठौँ बागलुङ महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित: १६ पुस २०८२ १७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App