५ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

पुसेमेलाको अवसरमा पुरुष भलिबल प्रतियोगिता हुने, विजेताले ३ लाख पुरस्कार पाउने

पुसेमेला २०८२ को अवसरमा ताप्लेजुङको दोभान बजारमा अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

पुसे मेला सञ्चालन समितिका हेम चोङवाङका अनुसार भलिबल प्रतियोगितमा विजेता हुने टिमले नगद ३ लाख र उपविजेता हुने टिमले १ लाख ७५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। सेमी फाइनलमा पुगेका दुई टिमलाई सान्त्वना पुरस्कार स्वरूप प्रतिटिम ५० हजार रुपैयाँ प्रदान गरिने पुसेमेला सञ्चालन समितिले जनाएको छ।

उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट बल्कर, उत्कृष्ट सेटर, उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडीलाई जनही नगद ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ। सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद ७ हजार रुपैयाँ तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई १ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजक पुसेमेला सञ्चालन समितिका अध्यक्ष चोङवाङले जानकारी दिए।

आयोजकले सहभागी टिमलाई एकतर्फी बस भाडा उपलब्ध गराउने भएको छ। पुसेमेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो। मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको संगमस्थल दोभान बजारमा हुने पुसेमेला पुस १ गतेबाट सुरु भई ५ गते समापन गर्ने आयोजकको तयारी रहेको पुसेमेला सञ्चालन समितिका सचिव गणेश कार्कीडोलीले जानकारी दिए।

कृषि तथा पर्यटन प्रवर्द्धन गर्दै खेलकुदका माध्यमबाट दोभान र आसपासमा रहेका प्राकृतिक सम्पदा, पर्यटन र कृषि क्षेत्रको थप उन्नयन गर्ने तथा प्रतिभावान खेलाडीको खेलको सम्मान र उदयमान खेलाडीको खेल कौशलको विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको पुसेमेला सञ्चालन समितिले जानकारी दिएको छ।

समितिका अनुसार पुसेमेला लाग्न थालेको यस वर्ष ५१ औं वर्ष हुने छ।

प्रकाशित: ८ मंसिर २०८२ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App