८ भाद्र २०८३ सोमबार
image/svg+xml
खेल

पुरुष हक्की विश्वकप : सेमिफाइनलमा पुग्न भारतलाई अर्जेन्टिनाविरुद्ध ठूलो जित आवश्यक

पुरुष हक्की विश्वकपमा टिम इन्डियाले आज अर्जेन्टिनाविरुद्ध ‘गर या मर’को खेल खेल्दैछ। सेमिफाइनलमा स्थान बनाउन भारतलाई अर्जेन्टिनामाथि ठूलो अन्तरको जित आवश्यक छ। साथै, अर्को खेलमा नेदरल्याण्ड्सले इङ्ग्ल्याण्डलाई ठूलो अन्तरले पराजित गर्नुपर्ने समीकरण भारतको पक्षमा छ।

समूह ‘ई’ अन्तर्गत भारत र अर्जेन्टिनाबीचको खेल नेदरल्याण्ड्सको एमस्टेलभिनमा साँझ ६ः३० बजे सुरु हुनेछ। समूहमा नेदरल्याण्ड्स ६ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। इङ्ग्ल्याण्ड र अर्जेन्टिनाको समान ३–३ अंक छ भने भारत अंकविहीन हुँदै चौथो स्थानमा छ।

अर्जेन्टिनाले आफ्नो पछिल्लो खेलमा इङ्ग्ल्याण्डलाई ३–१ गोलले पराजित गरेपछि भारतको सेमिफाइनल पुग्ने सम्भावना जीवित बनेको हो। अब भारतले अर्जेन्टिनालाई फराकिलो अन्तरले हराउँदै गोल अन्तर सुधार गर्नुपर्नेछ।

भारतको चुनौती भने अर्जेन्टिनाविरुद्ध सहज छैन। यस वर्ष हक्की प्रो लिगमा दुई टोलीबीच भएका दुवै खेलमा अर्जेन्टिना विजयी भएको थियो। अर्जेन्टिनाले भारतलाई पहिलो खेलमा ८–० र दोस्रो खेलमा ४–२ गोलअन्तरले पराजित गरेको थियो।

भारतले सेमिफाइनलको सम्भावना बलियो बनाउन पेनाल्टी कर्नरका साथै ओपन प्लेबाट पनि प्रभावकारी गोल गर्नुपर्नेछ। प्रतियोगितामा अहिलेसम्म ६ गोल गरिसकेका कप्तान हरमनप्रीत सिंह भारतका मुख्य गोलकर्ताका रूपमा छन्।

हरमनप्रीतसँगै अभिषेकले दुई तथा दिलप्रीत सिंहले एक गोल गरेका छन्। अर्जेन्टिनाविरुद्ध यी खेलाडीबाट उत्कृष्ट प्रदर्शन र गोलको अपेक्षा गरिएको छ।

भारतका लागि अर्जेन्टिनाविरुद्धको खेल जित्नु मात्र पर्याप्त नहुन सक्छ। सेमिफाइनल प्रवेशका लागि गोल अन्तर निर्णायक बन्न सक्ने भएकाले भारतले आक्रामक रणनीतिसहित फराकिलो जित निकाल्नुपर्ने दबाबमा खेल्नेछ।

प्रकाशित: ८ भाद्र २०८३ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App