इलाम बजारबाट जिल्लाकै अग्लो डाँडो सन्दकपुरसम्म म्याराथन आयोजना गरिने भएको छ । दुर्लभ वन्यजन्तु रेडपान्डा तथा जैविक विविधता संरक्षणबारे जनचेतना जगाउने उद्देश्यले आउँदो असोज ४ गते म्याराथन आयोजना गर्न लागिएको हो ।
४४.२ किलोमिटरको यो म्याराथन समुद्री सतहबाट एक हजार आठ सय २० देखि तीन हजार छ सय १० मिटर उचाइसम्ममा हुने आयोजक दीपज्योति युवा क्लबले जनाएको छ । म्याराथनमा करिब सय धावक सहभागी हुने अनुमान आयोजकले गरेको छ ।
पुरुष खुला, महिला खुला र स्थानीय (इलाम, पाँचथर ताप्लेजुङ) गरी तीन विधाका विजयी धावकले पुरस्कार पाउनेछन् । खुलामा पुरुष र महिलातर्फ पुरस्कार राशि बराबर छ । पहिलो हुनेले डेढ लाख, दोस्रोले एक लाख, तेस्रोले ५० हजार र चौथोले ३० हजार रुपैयाँ पाउने क्लबका राम रिमालले जानकारी दिए । स्थानीयतर्फका विजेतामध्ये पहिलोले २५ हजार, दोस्रोले २० हजार, तेस्रोले १० हजार र चौथोले पाँच हजार रुपैयाँ पाउनेछन् ।
खेलाडीलाई इलाम बजारबाट म्याराथन सुरु भएपछि स्वास्थ्यकर्मीसहितको टोलीले निगरानी गर्नेछ । विभिन्न स्थानमा धावकहरूलाई उनीहरूको सुविधाका लागि पानी, फलफूल र आवश्यक परे उपचारसमेतको व्यवस्था गरिने खेल जानकार गणेश खतिवडाले जनाए ।
विश्वमा १० हजार संख्यामा रहेको अनुमान गरिएको दुर्लभ वन्यजन्तु रेडपान्डाको संख्या नेपालमा एक हजार रहेको अनुमान छ । पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङलगायत भारतीय सीमावर्ती क्षेत्रमा रेडपान्डा पाइन्छ । मानिस र अन्य जनावरबाट रेड पान्डालाई बचाउन विभिन्न संघ–संस्थाले यो क्षेत्रमा करोडौँ रुपैयाँका परियोजनासमेत सञ्चालन गरिरहेका छन् । यसैअन्तर्गत क्लबले रेडपान्डा संरक्षण र पर्यटन प्रवर्धनका लागि म्याराथन आयोजना गर्ने भएको रिमालको भनाइ छ ।
क्लबले गत वर्ष पनि ताप्लेजुङमा अन्तर्राष्ट्रिय ट्रेल म्याराथन आयोजना गरेको थियो । ‘खेलकुदलाई पनि पनि प्रकृति संरक्षणसँग जोड्न सकिन्न भन्ने यसको सन्देश हो,’ रिमालले भने, ‘त्यसकै माध्यमबाट स्थानीय समुदायलाई दुर्लभ वन्यजन्तुको संरक्षणमा जागरूक गराउनु हाम्रो लक्ष्य हो ।’
प्रकाशित: २२ भाद्र २०८२ १४:३५ आइतबार

