नेपालका मनोज श्रेष्ठले अस्ट्रेलियामा भएको २०२६ साउथ कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन्।
न्यु साउथ वेल्सस्थित बोमाडेरीमा शनिबार भएको च्याम्पियनसिपमा नेपालका मनोजले पुरुष ब्ल्याक बेल्ट स्पाइरिङ कांस्य पदक जितेका हुन्। शोआल हेभन इन्डोर स्पोटर्स सेन्टरमा भएको प्रतियोगितामा उनले ६८–७४ केजी तौलसमूहमा उक्त सफलता पाए।
उक्त च्याम्पियनसिपमा नेपालका मनोज र शिषिर श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो भूमिकामा सफलता पनि पाएका थिए। उक्त च्याम्पियनसिपमा शिशिरले ट्रेडिसनल पुम्सेमा स्वर्ण पदक जिते। उक्त विधामा शिषिरले उच्च स्तरीय कौशल प्रस्तुत गरे।
शिशिर १३औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य पदक विजेता पनि हुन्। मनोज र शिषिरले च्याम्पियनसिपमा प्रतिस्पर्धात्मकसँगै अफिसियलको भूमिकामा पनि योगदान दिएका छन्। मनोज श्रेष्ठ र शिषिर दुवैले स्पारिङतर्फ रेफ्रीको जिम्मेवारी निर्वाह गर्दै खेल सञ्चालनमा निष्पक्षता र उच्चस्तरीय व्यवस्थापन कायम राख्न महत्वपूर्ण भूमिका खेले। खेलाडी र अफिसियल दुवै रूपमा देखिएको उनीहरूको सक्रियता प्रतियोगिताको प्रमुख आकर्षण बनेको थियो।
प्रकाशित: ६ वैशाख २०८३ ११:१० आइतबार





