नेपाली फुटबलमा देखिएको गतिरोध अन्त्य गर्ने पहलस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत सदस्यले लामो समयदेखि बन्द रहेको केन्द्रीय कार्यालयको ताला खोलेका छन्। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा सदस्यहरूले बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कार्यालयको ताला खोलेका हुन्।
ताला खोलेसँगै उनीहरूले आगामी कात्तिक १३ गते कार्यसमिति बैठक बस्ने जानकारी दिएका छन्। नेपाली फुटबलमा देखिएका समस्या समाधान गर्न तथा ठप्प गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन बैठक बोलाउन लागिएको खड्काले बताएका छन्।
एन्फाको विधानअनुसार कार्यसमितिका एकतिहाइभन्दा बढी सदस्यले बैठक बोलाउन माग गरेपछि २१ दिनसम्म बैठक आह्वान नभएमा २२औँ दिनमा सदस्यहरूले बैठकका लागि पहल गर्न सक्ने व्यवस्था रहेको खड्काको भनाइ छ। सोही प्रक्रियाअनुसार कार्यालयको ताला खोलेर बैठकको तयारी अघि बढाइएको उनले बताए।
बैठकमा फिफाले नेपाली फुटबलमाथि लगाएको प्रतिबन्ध, सरकारसँगको सहकार्य तथा तहगत निर्वाचनमा देखिएका अवरोधबारे छलफल हुने जनाइएको छ। नेपाली फुटबलमा उत्पन्न विवादको निकास खोज्दै नियमित गतिविधि अघि बढाउने विषयलाई प्राथमिकता दिइने खड्काले बताएका छन्।
उनले एन्फा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवसहित सबै कार्यसमिति सदस्यलाई बैठकमा सहभागी भएर समस्याको समाधान खोज्न आग्रह गरेका छन्। बैठकको उद्देश्य कुनै पदाधिकारीलाई हटाउने वा कसैलाई निषेध गर्ने नभई नेपाली फुटबललाई निकास दिनु रहेको उनको भनाइ छ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले प्रतिबन्ध लगाएपछि नेपाली फुटबलको गतिविधि प्रभावित बनेको छ। यस्तो अवस्थामा एन्फाभित्रैबाट विवाद समाधानको पहल अघि बढाइएको हो। कात्तिक १३ गतेका लागि तय गरिएको बैठकले नेपाली फुटबलमा देखिएको गतिरोध अन्त्य गर्न कस्तो बाटो तय गर्छ भन्ने चासो बढेको छ।
प्रकाशित: ११ कार्तिक २०८३ १४:२७ बुधबार




-600x400.jpg)
